फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारलाई, नेपाल उपविजेता
काठमाडौं । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ ।
बुधबार दशरथ रङ्गशालामा भएको फाइनलमा नेपाललाई म्यानमारले २–० ले पराजित गर्दै उपाधि जितेको हो ।
फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल गर्यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेता बनेको हो ।
म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँ मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर विमला विकले बचाइन् ।
३५ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन् । त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन ।
४४औँ मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन् । नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो । फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रहेको छ ।


प्रतिकृया दिनुहोस