• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

केही व्यक्तिको बदमासीले सहकारी क्षेत्र बदनाम भयो : आनन्द श्रेष्ठ 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले केही व्यक्तिको बदमासीको कारण सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ । 

खाँडादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खाँडादेवी–३ आँपचौरको १५ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको शनिबार उद्घाटन गर्दै श्रेष्ठले खराब नियत भएका मानिसहरूले सहकारी क्षेत्रलाई बदनाम गराउने काम गरेका बताउनुभयो । ‘केही बदमासहरूले सहकारीलाई बदनाम गराए, ग्रामीण भेगमा सञ्चालन भएका सहकारी नागरिकका दैनिक जीवनका आधार बनेका छन्, त्यसैले सबै सहकारीलाई एउटै आँखाले हेर्नु हुँदैन’, उहाँले भन्नुभयो । 

सहकारी शेयर सदस्यहरूको लागि बोझ नभई सहयोगी हुनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसको लागि उत्पादनको क्षेत्रमा सहकारीको ऋण प्रवाह गर्नुपर्ने श्रेष्ठको धारणा छ । ‘अनुत्पादक क्षेत्रमा ऋण लगानी गरियो भने असुलीमा समस्या हुन्छ, ऋण लिनेलाई पनि त्यो ऋण बोझ हुन्छ’, श्रेष्ठले भन्नुभयो ।  

अहिले गाउँमा युवा बस्न छाडेका बताउँदै श्रेष्ठले सहकारीले उत्पादनको क्षेत्रमा ऋण प्रवाह गरी गाउँमा नै युवा टिकाउने र गरिखाने वातावरण बनाउनु पर्ने सुझाव दिनुभयो । 

कूल २१ सय १८ शेयर सदस्य रहेको सो सहकारीको शेयर पुँजी १ करोड ४ लाख पुगेको छ भने निक्षेप सङ्कलन ४६ करोड ४३ हजार पुगेको छ । ऋण लगानी ६५ करोड ५७ लाख रुपैँया पुगेको छ । यस वर्ष संस्थाले ९ लाख ८९ हजार रुपैँया खुद नाफा कमाएको छ । 

कार्यक्रममा बोल्दै खाँडादेवी गाउँपालिका–३ का वडाध्यक्ष पुष्कर कार्कीले सबैको प्रयासले सहकारी अहिलेको अवस्थामा आएको बताउनुभयो । गाउँको एउटा कुनामा रहेको सहकारीको यत्तिको प्रगति लोभलाग्दो भएको कार्कीको भनाइ छ । 

कार्यक्रममा खाँडादेवी गाउँपालिका–२ का वडाध्यक्ष केशव प्रधान, सामाजिक अभियन्ता श्यामकृष्ण श्रेष्ठ लगायतले सहकारी सम्बन्धी धारणा राख्नु भएको थियो । 

 

प्रतिकृया दिनुहोस