• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

वातावरण परिवर्तनको असर : म्याग्दीको मौवाफाँटमा सुन्तला फल्न छाड्यो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

म्याग्दी । तीन दशक अघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रित्तिएको छ । 

“स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो”, सुवेदीले स्मरण गर्नुभयो, “अहिले मौवाफाँटमा सुन्तला उत्पादन हुनै छाड्यो । बगैँचा पनि नासियो ।” 

कुनै समय राम्रो चर्चा र धेरै माग हुने मौवाफाँटको सुन्तला हाल एकादेशको कथाजस्तै भएको सुवेदीले बताउनुभयो । उहाँकहाँ मात्र नभएर मौवाफाँटमा अहिले कसैको घरमा पनि बगैँचा छैन । एक जनाको एक सय बोटसम्म सुन्तलाको बगैँचा थियो । २० भन्दा बढी बगैँचा थिए । 

चिमखोला, दग्नाम, कुइनेमङ्गलेका बासिन्दाले कोदो, मकै, आलु ल्याएर मौवाफाँटबाट सुन्तला साटेर लैजान्थे । आलु र सुन्तलाको वस्तु विनिमय गर्ने चलन थियो । मौवाफाँटका क्षेत्री, बाहुन, ठकुरी र चिमखोला, दग्नामका मगर, कुइनेङ्गलेका छन्त्याल जातीबीच मितेरी साइनो लगाउने चलन पनि थियो । 

केही वर्षयता घरायसी उपभोगका लागि लगाएको सुन्तलाको बोटमा पनि फल लाग्न छाडेको मौवाफाँटका बासिन्दा हरि सुवेदीले बताउनुभयो । तापक्रम वृद्धिको असर र माटोमा अम्लियपना बढेका कारण मौवाफाँटबाट सुन्तला नासिएको उहाँले बताउनुभयो । टुनीको रूखहरू फैलिँदा सुन्तला खेतीमा असर परेको पनि उहाँको अनुभव छ । 

दाना सानो लाग्ने, पात पहेँलो भएर झर्ने, हाँगा सुक्नेजस्ता समस्या देखिएको सुवेदीले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाको केन्द्र रहेको मौवाफाँट समुद्री सतहदेखि १हजार २ सयदेखि १ हजार ४ सय मिटरको उचाइमा छ । मौवाफाँट त्यसभन्दा माथिल्लो क्षेत्रमा पर्ने फूलबारी, दुलेपानी र बुक्लमा सुन्तला खेती राम्रो हुन थालेको छ । 

फूलबारी, दुलेपानी र बुक्ल समुद्र्री सतहदेखि १ हजार ५ सय मिटर हाराहारीको उचाइमा छन् । तापक्रम वृद्धिको असर सुन्तलाखेतीमा देखिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । 

हावापानी, मौसम र माटोको परीक्षण गरेर मात्र सुन्तला बगैँचा स्थापना गर्नुपर्ने उहाँले कृषकलाई सुझाव दिनुभयो । पुराना बगैँचामा फल टिपेपछि मल र पानी हाल्न, बोडोपेष्ट लगाउन बास्तोलाले सुझाउनुभयो । 

म्याग्दीमा ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा ४ सय २५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रून्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरूङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । 

गत वर्ष ३ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष ४ हजार ७ सय ८१ मेट्रिक टन उत्पादन भएको छ । म्याग्दीका कृषकले यस वर्ष रू ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस