• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

समाचार

समाचार

भद्रपुर । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा  १४ अर्ब ५६ करोड ६३ लाख  रुपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । 

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया  छ अर्ब ८२ करोड रुपैयाँ, अलैँची  चार अर्ब २२ करोड ६० लाख रुपैयाँ, प्लाइ तथा भेनियर  एक अर्ब ९१ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको उहाँले बताउनुभयो । 

यस्तै, अदुवा  २६ करोड १३ लाख रुपैयाँ , अम्लिसो  ४९ करोड ७४ लाख रुपैयाँ , बन्दा  आठ करोड १७ लाख रुपैयाँ, जडीबुटी दुई करोड ६३ लाख रुपैयाँ मसुरो दाल एक रोड ५५ लाख रुपैयाँ मूल्यको निर्यात भएको छ ।  सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिनुभयो । 

आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १० करोड ९५ लाख ६८ हजार, चामल  तीन करोड तीन लाख रुपैयाँ, ताजा तरकारी  १८ करोड २३ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ । 

यसैगरी ताजा फलफूल २० करोड १८ लाख रुपैयाँ , लसुन ६१ करोड ७५ लाख रुपैयाँ , आलु  २१ करोड ७४ लाख रुपैयाँ  मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ । 
-रासस

प्रतिकृया दिनुहोस