• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

मन्थली नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली माविलाई 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । मन्थली नगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले जितेको छ । 

शुक्रबार साँझ सम्पन्न भएको खेलमा मन्थली माविले सबैभन्दा धेरै पदक जितेर उपाधि प्राप्त गरेको हो । बुधबारबाट सुरु भएको खेलमा मन्थली माविले ३१ स्वर्ण, २५ रजत, १५ कांस्यसहित ७१ वटा पदक जितेर प्रथम भएको  मन्थली नरपालिका खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिनुभयाे । 

२० वटा माध्यमिक विद्यालयले भाग लिएको प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुलले दोस्रो भएको छ । उसले १७ स्वर्ण १२ रजत, १८ कांस्य गरी ४७ वटा पदक  जितेको छ । 

यसैगरी ६ स्वर्ण, ८ रजत, ६ कांस्यसहित २० पदक जितेको कर्कला देवी बोर्डिङ स्कुल (केब्स) आकाशेले तेस्रो भएको छ । 

प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ७ कांस्यसहित १४ पदक जितेर निलकण्ठेश्वर माविले चौथो स्थान प्राप्त गरेको छ । 

प्रतियोगितामा ६ वटा विधाका ६६ स्वर्ण, रजत र कांस्य पदकका लागि ६ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्दो, कराँते र ऐथ्लेटिक्समा खेल समावेश गरिएको थियो । 

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेको खेलका विजेता खेलाडीहरूलाई नगर प्रमुख श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझी लगायतले शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गर्नुभएकाे थियाे। 

प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, यस्तै, दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले नगद १५ हजार प्राप्त गरे छन् ।

 

प्रतिकृया दिनुहोस