मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
रामेछाप । मन्थली नगरपालिकाको सातौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता बुधबारबाट मन्थलीमा सुरु भएको छ ।
मन्थली नगरपालिकाका २० वटा माध्यमिक विद्यालयले भाग लिएको प्रतियोगिता नगर खेलकुद विकास मितिका अध्यक्ष गोपालबहादुर माझीको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको हो ।
प्रतियोगितामा ४ विधाका ६६ पदकका लागि ६ सय ५० विद्यार्थीले भाग लिइरहेका मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुबहादुर अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले खेलले नैतिकता, अनुशासन, सद्भाव सहितको क्षमता अभिवृद्धि कायम गर्ने बताउनुभयो । राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको लागि पनि यसले टेवा पुर्याउने उनले विश्वास व्यक्त गर्नुभयो। श्रेष्ठले अबको समय विद्यार्थीको काँधमा आएको भन्दै त्यो जिम्मेवारी पुरा गर्ने गरी अघि बढ्न आग्रह गर्नुभयो। उहाँले विद्यार्थीलाई खेलका सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो ।
प्रतियोगिता अन्तर्गत भएको स्काउट मार्च पारमा केब्स स्कुल मन्थली प्रथम, मन्थली मावि मन्थली द्वितीय र तामाकाेशी अङ्ग्रेजी विद्यालय मन्थली तृतीय भएका छन् ।


प्रतिकृया दिनुहोस