• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सम्पत्ति शुद्धीकरणको समस्या समाधानका लागि आवश्यक कानुन बनेका छन् : अर्थमन्त्री पौडेल

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नका लागि नेपालले आवश्यक कानुनहरु निर्माण गरेको बताउनुभएकाे छ । 

सोमबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै अर्थमन्त्री पाैडेलले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रभावकारी काम हुन नसके पनि केही महत्वपूर्ण कामहरु भने भएको बताउनुभयाे ।

सम्पत्ति शुद्धीकरणको समस्या समाधानका लागि गर्नुपर्ने जति काम हुन नसकेकाे उहाँले स्वीकार गर्नुभयाे । अर्थमन्त्री पाैडेलले भन्नुभयाे - 'सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्र नभएर विश्वस्तरको नै हो, हामीले यस दिशामा केही प्रयासहरु गरेका छौं, नेपालले यसका लागि आवश्यक कानून, नियम, संरचनाहरु निर्माण गर्नुको साथै अनुसन्धानका कामलाई अगाडि बढाएको छ, यस हिसाबले नेपालले केही महत्वपूर्ण काम गरेकै छ, यो सँगै एउटा सत्य के हो भने हामीले जति गर्नुपर्ने हो वा गर्न सक्नुपर्ने हो त्यो हिसाबले काम गर्न सकेका छैनाैं ।'

कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएको भन्दै उहाँले दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्ने अपेक्षा गरेको बताउनुभयाे । मन्त्री पाैडेलले भन्नुभयाे - 'कसूरजन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी तरिकाले अगाडि बढाएका छौं भनेर गर्व गर्न सक्ने गरेर प्रस्तुत हुन सक्नुपर्ने थियो, नेपालले सम्पत्ति शुद्धीकरणको कसूरमा दोषी भएका जो कसैलाई पनि दण्डित गर्छ, निर्दोष कसैले पनि डराउनु पर्दैन् भन्ने मानक स्थापित गर्ने हिसाबले आउने दिनमा प्रभावकारी कामहरु हुनेछन् र हामी देशभित्र र दुनियाँका सामु सम्पत्ति शुद्धीकरण निवारणको सम्बन्धमा एउटा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछाैं भन्ने अपेक्षा गर्न चाहान्छु ।'

आजको कार्यक्रमले निश्चित रुपमा सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा राम्रा प्रयासहरुलाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण योगदान दिने भन्दै विशेषगरि जनचेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयाे ।
 

प्रतिकृया दिनुहोस