सामाजिक सञ्जालमा सन्दीपको भावुक स्टाटस, के सन्यास लिन लागेका हुन् ?
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेगस्पीनर लामिछानेले शनिबार राति फेसबुकमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ ।
आफ्नो आधिकारिक फेसबुक पेजमा उनले एक पोस्ट लेख्दै सबैलाई धन्यवाद दिएका छन् । 'यी सबै कुराको लागि सबै जनालाई धन्यवाद, यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ, तपाइँहरुको यो माया र हौसला मेरा लागि सबथोक हो, जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ'- सन्दीपले लेखेका छन् ।
अंग्रेजी भाषामा सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले नेपालका आफ्ना समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अड्कलबाजी पनि लगाएका छन् ।
यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहेका थियाे । तर पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः नेपाली क्रिकेटमा फर्किएका हुन् ।


प्रतिकृया दिनुहोस