काठमाडाैंका यी ठाउँमा आज बत्ती जाने
काठमाडाैं । काठमाडाैंका विभिन्न ठाउँमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
लाइन मर्मत एवं विस्तारका लागि काठमाडाैंका विभिन्न ठाउँमा शनिबार दिउँसाे ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ ।
क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठा लगायत क्षेत्रमा दिउँसाे १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने ती क्षेत्रमा टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने प्राधिकरणले जनाएको छ ।
टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वल्र्ड ट्रेड सेन्टर, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताल लगायत क्षेत्रमा पनि विद्युत कटौती हुनेछ ।
त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि विद्युत कटौती हुने प्राधिकरणले जनाएकाे छ ।
थापाथली फिडर अन्तर्गत प्रसुतीगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि दिउँसाे १ बजेदेखि ५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।
तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समय भन्दा पहिल्यै लाइन आउने सूचनामा उल्लेख छ । लाइन कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।


प्रतिकृया दिनुहोस