• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

राकाथुममा आयोजित दोस्रो वडाध्यक्ष खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रातमाटालाई 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । श्री समाज कल्याण मगर सेवा समिति खाँडादेवी गाउँपालिका–१ राकाथुम रामेछापद्वारा आयोजित दोस्रो वडाध्यक्ष खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ को रातमाटा युवा समाजले जितेको छ । 

शनिबार सम्पन्न खेलमा रामेछापकै लिखु तामाकोशी गाउँपालिका–२ सैपुको टिमलाई पराजित गर्दै रातमाटाले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा मन्थली नगरपालिका–८ चिसापानी रामेछापको स्टार युनिभर्स तेस्रो भएको छ भने मन्थली नगरपालिका–७ भटौलीले चौथो स्थान प्राप्त गरेको छ । 

खाँडादेवी गाउँपालिका १ नं वडा कार्यालय र राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा प्रतियोगिता भएको हो । 

रामेछापको प्रदेश सभा ख बाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाईँको प्रमुख आतिथ्यतामा भएको खेलको समापन कार्यक्रममा सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट, वडाध्यक्ष रामकुमार श्रेष्ठ, राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिंङले उद्घाटन गर्नुभएको खेलमा १४ टिमको सहभागिता रहेको थियो ।प्रतियोगितामा प्रथम हुने टोलीले ६० हजार रुपैँया नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै दोस्रो हुनेले नगद ४० हजार, सिल्ड, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद २० हजार, सिल्ड, मेडल प्रमाणपत्र तथा चौथो हुनेले नगद १० हजार मेडल र प्रमाणपत्र पाएका छन् । विजयी खेलाडीलाई प्रमुख अतिथि लगायतले नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस