सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले जित्याे एनपीएलकाे उपाधि
काठमाडौं । पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगिताकाे उपाधि जनकपुर बाेल्ट्सले जितेकाे छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएकाे फाइनल खेलमा सुदूरपश्चिम राेयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेकाे हाे ।
योसँगै जनकपुरले १ करोड १० रुपैयाँमा प्राप्त गर्नेछ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनेछ । लिग चरण र क्वालिफायरमा जनकपुरविरुद्ध एकतर्फी जित निकालेको सुदूरपश्चिम फाइनलमा भने चुक्याे ।
फाइनल खेलमा सुदूरपश्चिमले दिएकाे १ सय ८५ रनकाे लक्ष्य जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्याे । जनकपुरकाे जितमा लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ८७ रन बनाए । कप्तान आसिफ शेखले ३३ र हर्ष ठाकरले नटआउट ३० रन थपे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलजिन, दिपेन्द्र सिंह ऐरी, सैफ जैब र इशान पाण्डेले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ राेजेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएकाे थियाे । सुदूरपश्चिमका लागि सैब जैबले ६९, विनोद भण्डारीले ४१, हर्मित सिंह र ब्रान्डन म्याकमुलमले समान १४-१४ र स्कट कुग्गेलेनले १३ रन बनाए ।
बलिङतर्फ जनकपुरका मोहमद मोहसिन र किशोर महतोले समान ३-३ तथा ललितनारायण राजवंशी र जिम्मी निसमले समान १-१ विकेट लिए ।


प्रतिकृया दिनुहोस