एनपीएल : पोखराले लुम्बिनीलाई १० विकेटले हरायो, आन्द्रेसको शतक र दिनेशको अर्धशतक
काठमाडाैं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा पोखरा एभेन्जर्सले पहिलो हात पारेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएकाे खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पाेखराले पहिलाे जित हात पारेकाे हाे ।
लुम्बिनी लायन्सले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी ब्याटिङमा बिना विकेटको क्षतिमा १६ ओभर ५ बलमा पूरा गर्यो । सले एनपीएलकै पहिलाे र छिटाे शतक बनाउने क्रममा नटआउट १०४ रन जाेडे । गौसले २० बलमा अर्धशतक र ५४ बलमा शतक हाने । दिनेशले नटआउट ६१ रन थपे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएकाे थियाे । लुम्बिनीका लागि कप्तान रोहित पाैडेलले ९५, टस मुर्सले ४५ र सन्दीप जोराले १८ रन जोडे ।
बलिङतर्फ पोखराका लागि विपिन खत्रीले २ र म्याट क्रिचलेले १ विकेट लिए ।
आज तेस्राे खेल खेलेकाे पाेखराले यसअघिका दुवै खेल हारेकाे थियाे । पाेखरा पहिलो खेलमा चितवन राइनाेज र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग हारेको थियो ।
आज दाेस्राे खेल खेलेकाे लुम्बिनीले यसअघिकाे खेल पनि हारेकाे थियाे । लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस