नेत्रहीन टी-२० विश्वकप क्रिकेट : नेपाल सेमिफाइनलमा पाकिस्तानसँग १० विकेटले पराजित
काठमाडाैं । पाकिस्तानमा जारी नेत्रहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
मुल्तान क्रिकेट मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । याेसँगै नेपालको फाइन खेल्ने सपना चकनाचुर भएकाे छ ।
नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले ५ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गर्याे । पाकिस्तानका लागि कम्रन अख्तरले ६३ र बाबर अलीले ३२ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले ४० र रमेश बानियाँले नटआउट १७ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ पाकिस्तानका लागि माती उल्लाहले ३ र बाबर मुनरिले १ विकेट लिए ।
विभिन्न ६ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । पहिलाे खेलमा श्रीलंकासँग ७० र दाेस्राे खेलमा बंगलादेशसँग ६७ रनले पराजित भएको नेपालले अफगानिस्तालाई १ सय ८ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो ।
नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।
जहाजको टिकट काट्ने पैसा नभएपछि नेपाली टाेली रेलमार्फत् भारत हुँदै पाकिस्तान पुगेको थियाे ।


प्रतिकृया दिनुहोस