च्याँडिटारको सुन्दर केरा फार्म बाढीले बगर बनायो, किसानको सपनामा तुसारापात गरायो
रामेछाप । सुनापति गाउँपालिका–४ च्याँडिटारको नेत्रेश्वर एग्रिकल्चर फार्ममा २ हजार बढी घरी मालभोग जातका केरा पसाएर पाक्ने बेला भएका थिए ।
४ हजार बढी केराका बिरुवा रहेको फर्म रहर लाग्दो थियो । हेर्दै आँखा लाग्ने खालको फार्मले सबैलाई लोभ्याउँथ्यो ।
सायद दैवको पनि आँखा लाग्यो होला । त्यसैले त गत असोज १० गतेदेखि लगातार तीन दिनसम्मको वर्षाले सुनकोशी नदीमा नसोचेको बाढी आयो । सुनकोशी नदीमा यो युगमा अहिलेसम्मै नआएको बाढी आयो ।
सुनकोशी नदीको बाढी च्याँडिटार फाँटमा पस्यो । हेर्दा हेर्दै केराको सुन्दर बगैँचाको साथै पसाए लहलह धान झुलेको फाँट बगर बनायो ।
किसानका सपना सुनकोशी नदीको बाढी मिल्यो । सुन्दर च्याँडीटारको फाँटमा नदीको बालुवा र गेगर मात्र बाँकी बस्यो । किसानको बाली भित्र्याउने सुन्दर सपनामा बालुवाको धब्बा लाग्यो ।
नेत्रेश्वर एग्रिकल्चर फार्मको केरा बगैँचा रामेछाप जिल्लाकै सबै भन्दा ठुलो केरा बगैँचा थियो । अब त्यो इतिहास मात्र बनेको छ । केरा बगैँचा बगरमा परिणत भएको छ । बाढीले बगाएर ढलेका केराका बोटबाट साना साना बिरुवा माथि उठ्न संघर्ष गर्दछन् ।
बगैँचामा चितवनबाट ल्याएर केराका बिरुवा रोपिएको फार्मका सञ्चालक राजकुमार मैनाली बताउनुहुन्छ । त्यसका साथै बगैँचामा लगाइएका २ सय बढी उन्नत जातका अम्बाका बिरुवा पनि बाढीले बगाएको मैनालीले बताउनुभयो ।

अहिले च्याँडिटारको फाँट मात्रै बगाएको छैन, गाउँमा ल्याइएको खानेपानी योजना पनि बगाएको छ । सिँचाइको कुलो बगाएको छ । सिङ्गो फाँट अहिले सुनकोशीको बगर बनेको छ ।
बाढीले किसानको ठुलो क्षति भए पनि राहतको कुरा परै जाओस् सरकारले अहिलेसम्म त्यसको यकिन तथ्याङ्क समेत संकलन गरेको छैन । धान भित्र्याउने बेला भएको अत्यन्त उर्वर खेत बगरमा परिणत भएको छ । न भकारीमा धान छ न गहुँ लगाउन खेत छ ।
यतिबेला स्थानीयलाई कसरी जीवन धान्ने भन्ने समस्या परेको छ । यसमा तीनवटै तहका सरकारले गम्भीर भई किसानलाई राहत र क्षति भएको जग्गाको संरक्षण गरेर आवश्यक पूर्वाधार निर्माणको काममा जुट्न आवश्यक छ ।


प्रतिकृया दिनुहोस