नेत्रहीन टी-२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेकाे छ ।
पाकिस्तानकाे लाहाेरमा मंगलबार भएकाे आफ्नाे चाैथाे खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेकाे हाे ।
नेपालले दिएकाे १ सय ९९ रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिका निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८७ रनमा समेटियो ।
त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रन बनाएकाे थियाे । नेपालका लागि नरेश चौधरीले ८० रन बनाए ।
जारी प्रतियाेगितामा नेपालकाे याे दाेस्राे जित हाे । पहिलो खेलमा श्रीलंकासँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले तेस्राे खेलमा अफगानिस्तानलाई हराएकाे थियाे ।
नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।
जहाजको टिकट काट्ने पैसा नभएपछि नेपाली टाेली रेलमार्फत् भारत हुँदै पाकिस्तान पुगेको थियाे ।


प्रतिकृया दिनुहोस