चिया पढ्ने विद्यार्थी भएनन्, पढाई नै बन्द
असिम तिमल्सिना -
काठमाडौं । वैशाख १५ गते नेपालमा चिया दिवस मनाइयो । आइतबार सोहि अवसरमा चिया तथा कफि विकास वोर्डले आयोजना गरेको कार्यक्रममा भनियो– ‘नेपाल चियामा आत्मनिर्भर भयो ।’
उता नेपालमा सबैभन्दा धेरै चियाखेति भएको झापाको मेची वहुमुखी क्याम्पस भद्रपुरमा भने चिया सम्बन्धी ‘विएस्सी इन टि टेक्नोलोजी एण्ड म्यानेजमेन्ट’ विषयको पढाई भने बन्द भएको छ ।
०६८ सालदेखि चिया विषयमा पठनपाठन सुरु भएको क्याम्पसमा यस वर्ष विद्यार्थी नै भर्ना भएनन् । विद्यार्थी नभएपछि पढाई नै बन्द गर्नुपरेको हो । क्याम्पसमा विद्यार्थी भर्ना गत वर्षदेखि नै शून्य रहेको थियो ।
क्याम्पस प्रशासनको कुरालाई आधार मान्ने हो भने, क्याम्पसमा चिया सम्बन्धी अध्ययनका लागि चिया बगैंचा, माटो परिक्षण प्रयोगशाला लगायतका सम्पूर्ण पूर्वाधार छन् । तर विद्यार्थीले चिया अध्ययनमा रुची नदेखाएपछि क्याम्पस प्रशासनले यो विषयको पढाई नै बन्द गरिएको घोषणा गरेको छ ।
सो विषयमा स्नातकोत्तर तहको पढाइ नहुने र अन्य विषयको भन्दा शुल्क महंगो समेत हुने हुँदा विद्यार्थी नआएको क्याम्पस प्रशासनले बताएको छ ।
पठनपाठन सुरु भएको आठ वर्ष लाग्दा, जम्मा ३५ जना विद्यार्थीले मात्र चियामा स्नातक तहको अध्ययन गरेका छन् ।
यता नेपाल भने चियामा आत्मनिर्भर भएको छ । आत्मनिर्भरमात्र भएको छैन, निर्यात प्रवर्धनमा समेत टेवा पुराइरहेको छ । आर्थिक वर्ष ०७५÷०७६ को तथ्यांक आउन बाकी नै छ तर ०७४÷०७५ मा भने नेपालले कुल तीन अर्व २५ करोड रुपैयाँको चिया निर्यात गरेको थियो ।
नेपाल चिया तथा कफि विकास बोर्डका सूचना अधिकारी भन्छन्– ‘हामी आत्मनिर्भर भएर निर्यात गर्ने चरणमा पुगिसकेका छौं । यद्यपी केही मात्रामा चिया आयात पनि भएका छन् । त्यो नेपाली चियाले नपुगेर होइन, विदेशी चिया खाने हाम्रो रहरका कारण हो’, उनले भने ।
गत आ.व.मा नेपालमा दुई करोड ४८ लाख केजी चिया उत्पादन भएकोमा करिब १२ करोड नौ लाख ३४ हजार रुपैयाँ बराबरको चिया नेपाल आयात गरिएको थियो ।
नेपालमा करिब २८ हजार पाँच सय ९५ हेक्टर जमिनमा चिया खेति हुने गरेको छ । चिया उद्योगले करिब ६० हजार मजदुरलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । जसमा करिब ९० प्रतिशत महिला रहेका छन् ।
झापा, इलाम, पाँचथर सहित देशका करिब ११ वटा भन्दा बढी जिल्लामा चिया खेति भइरहेको छ । एक सय वटा भन्दा साना ठूला चिया प्रशोधन उद्योग रहेका छन् । साना चिया खेति गर्ने किसानको संख्या करिब १५ हजार एक सय जना पुगेको छ ।
आइतबार ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा चिया उद्योगको विकास र संरक्षण गरौं’ भन्ने मुल नाराका साथ राष्ट्रिय चिया दिवस मनाइएको थियो ।


प्रतिकृया दिनुहोस