• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

हङकङ सिक्सेस क्रिकेट प्रतियोगिता : क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग पराजित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा पराजित भएको छ ।

आज क्वाटरफाइनल खेलमा श्रीलङ्कासँग पराजित भएसँगै नेपाल खेलबाट बाहिरिएको हो । आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको छ ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा श्रीलङ्काले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल पाँच ओभरमा सबै विकेट गुमाएर ८३ रनमा अलआउट भयो । 

नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाए । खानले १८ बलमा आठ छक्का र एक चौका प्रहार गरे । यस्तै नारायण जोशीले १३ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले दुई/दुई तथा धनञ्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै १ सय २३ रन बनायो । 

श्रीलङ्काका लागि सदुन विराकोडीले १४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५० रन बनाए । यसै गरी कप्तान लिहुरु मदुसन्काले अविजित ३१, लाहिरु समराखोनले अविजित २२ र थनुका डबारेले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि नारायण जोशी र प्रतिश जिसीले एक/एक विकेट लिए । यसअघि समूह चरणको खेलमा भने नेपालले इङल्याण्ड र अस्ट्रेलियालाई हराएको थियो ।

प्रतिकृया दिनुहोस