• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सहयोग सङ्कलन गरेर भलिबल प्रतियोगिता, एमाले नेता रत्न गौतमद्वारा २ लाख रुपैँया सहयोग 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप। रामेछापको ग्रामीण भेगमा रहेको नमुनादीप युवा क्लबले स्थानीय प्रतिभाको विकासका लागि सहयोग सङ्कलन गरेरै भलिबल प्रतियोगिता आयोजना गरेको छ । 

नमुनादीप युवा क्लब लिखु तामाकोशी गाउँपालिका–२ सैपुको आयोजनामा  दशौँ संस्करणको रूपमा ‘नमुना दीप कप’ पालिका स्तरीय खुला भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ । रामेछाप जिल्लाकै सबैभन्दा ठुलो धनराशि पुरस्कार भएको सो प्रतियोग सहयोगी दाताबाट सहयोग सङ्कलन गरेरै संस्थाले नियमित रूपमा सञ्चालन गर्दै आएको छ । 

सो खेल सञ्चालनको लागि नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य सदस्य रत्न गौतमले २ लाख रुपैँया सहयोग गर्नुभएको छ । यसैगरी प्रतियोगिता सञ्चालनको लागि लिखु तामाकोशी गाउँपालिका–२ नं वडा कार्यालय सैपुले  ५० हजार रुपैँया सहयोग गरेको संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो । 

लिखु तामाकोशी गाउँपालिका–२ सैपुस्थित अरुणोदय माविको मैदानमा आइतबारबाट जारी प्रतियोगिता मंगलबार समापन हुँदै छ । गौतमको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण एवम् समारोह हुने क्लबले जनाएको छ । 

प्रतियोगिताको विजेता टोलीले ट्रलीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा रामेछाप जिल्लाबाट मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, साँघुटार युवा क्लब र अरुणोदय माविले भाग लिएका छन् । ओखलढुङ्गाबाट चम्पादेवी गाउँपालिका र लिखु गाउँपालिकाका ३ वटा टिमले भाग लिएका छन् । त्यस्तै दोलखाबाट तामाकोशी गाउँपालिका र मेलुङ गाउँ पालिका, सोलुखुम्बुको लिखु पिके गाउँपालिकाले टिम दर्ता गराएका थिए । चम्पादेवी गाउँपालिकाले प्रतियोगितामा खेलाडी नपठाएको आयोजकले जनाएको छ । 

प्रतिकृया दिनुहोस