यु-१९ विश्वकप एसिया छनोटअघि नेपाली महिला क्रिकेट टाेलीले दिल्लीमा प्रशिक्षण गर्ने
काठमाडौं। नेपाली महिला यु-१९ क्रिकेट टाेलीले भारतको नयाँ दिल्लीमा प्रशिक्षण गर्ने भएको छ ।
आईसीसी यु-१९ महिला टी-२० विश्वकपको एसिया छनोट खेलको तयारी गर्न नेपालले दिल्लीमा क्लोज क्याम्प गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले दिल्ली जाने नेपाली टाेलीलाई शनिबार भैरहवामा बिदाइ गर्नुभएकाे छ । यु-१९ महिला टी-२० विश्वकपको एसिया छनोटका लागि नेपाली टाेली दिल्लीबाटै दुबईतर्फ प्रस्थान गर्नेछ ।
विश्वकपको एसिया छनाेट नोभेम्बर ६ देखि सुरु हुँदैछ । छनाेटमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्ने छन् । नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाइल्याण्डसँग खेल्दैछ । दाेस्रो खेल नोभेम्बर ७ मा कुवेतविरुद्ध, तेस्राे खेल नाेभेम्बर ९ मा युएईविरुद्ध, चाैथाे खेल नोभेम्बर १० मा फेरी थाइल्याण्डविरुद्ध, पाँचाैं खेल नोभेम्बर १२ मा फेरी कुवेतविरुद्ध र छैटाैं खेल नोभेम्बर १३ मा फेरी युएईविरुद्ध खेल्ने तालिका छ ।
क्वालिफायरमा शीर्ष स्थानमा रहने टाेली विश्वकपका लागि छनौट हुनेछ ।
क्यानले यु-१९ महिला टी-२० विश्वकपको एसिया छनोट खेलका लागि पूजा महतोको कप्तानीमा १४ सदस्यीय टाेलीकाे घोषणा गरेको थियो । नेपाली टाेलीमा कप्तान पुजासहित सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी छन् ।


प्रतिकृया दिनुहोस