विश्वकप लिग-२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा
काठमाडाैं । अमेरिकामा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार राेहित पाैडेलकाे कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी परेका छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।
लिग-२ काे त्रिकाेणात्मक एकदिवसीय सिरिजमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित छन् । नेपालले भाेलि आइतबार अमेरिकासँग खेल्दै लिग-२ सिरिजकाे सुरुआत गर्नेछ । नेपालले दोस्रो खेलमा आगामी मंगलबार स्कटल्याण्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यस सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग कात्तिक १९ गते खेल्नेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल ८ खेलमा ३ अंकसहित अंक तालिकाको सातौं स्थानमा छ । अमेरिका ९ खेलबाट १२ अंकसहित अंक तालिकाकाे दोस्रो स्थानमा छ । स्कटल्याण्ड ८ खेलबाट ११ अंक जोडेर अंक तालिकाकाे चौथो स्थानमा छ । लिग-२ को शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अंक छ ।
यसअघि नेपालले अमेरिकासँगको टी-२० सिरिज क्लिन स्विप गरेको थियो ।


प्रतिकृया दिनुहोस