चुनावको चोटले माछा पालेका मेयर मालामाल
सन्तोष बराइली –
सिराहा । मेयर राम औतार यादवले चार वर्ष अघि चौध लाख रुपैयाँ खर्चेर सातवटा पोखरी खने । माछा पाल्न थाले । पहिलो वर्ष दुई लाख रुपैयाँ नाफा कमाए । उनी भन्छन्– ‘दोस्रो वर्ष २३ लाख रुपैयाँको माछा बेचें ।’
उनले सुखीपुर नगरपालिकाको मोहनपुर कमलपुरमा माछा पालन गरेका छन् । २३ लाख रुपैयाँको माछा बेच्दा खर्च कटाएर कति फाइदा भयो ? राम औतार भन्छन्– ‘साढे चौध लाख रुपैयाँ जति फाइदा भयो ।’
यो वर्ष कति रुपैयाँको माछा बेच्ने ? राम औतार भन्छन्– ‘यो वर्ष ५० लाख रुपैयाँको माछा बेच्छु ।’
माछा पालन गरेरै मालामाल बनेका रामऔतार अहिले सिराहा सुखीपुर नगरपालिकाका मेयर छन् ।
भोटको चाटले माछा पालन
राम औतार ०३६ सालमा १० कक्षा पढ्थे । त्यसबेला सिराहालाई निर्मल लामा नेतृत्वको नेकपा (चौथो महाधिवेशन) को गढ मानिन्थ्यो । उनी पनि सो पार्टी सम्वद्ध अनेरास्ववियूमा लागे । पछि अंग्रेजी र राजनीतिशास्त्रमा स्नातक गरेपछि शिक्षक बने । ओखलढुंगाको मानेभञ्ज्याङमा केही वर्ष पढाए । त्यसपछि आफ्नै जिल्लामा पढाए । त्यसबेला प्रतिवन्धित कम्युनिष्ट र कांग्रेसको राजनीति धान्ने काम शिक्षकहरुले नै गरेका थिए ।
०५१ मा उनी तत्कालीन एमालेमा प्रवेश गरे । एमालेले उनलाई ०६४ को पहिलो संविधानसभा चुनावमा उम्मेदवार बनायो । तर चुनाव हारे । ०७० को दोस्रो संविधानसभा चुनावमा पनि उम्मेदवार बनाइए, सिर्फ दुई सय ४२ मतले पराजित भए । दुई पटक चुनाव हार्दा उनको आर्थिक अवस्था डावाडोल बन्यो, करिब ४५ लाख रुपैयाँ ऋण लाग्यो । ऋणले पीर बढायो । पीरले निरासामा डुबायो ।
त्यो निरासा बीच उत्पत्ति भयो माछा पोखरीको योजना ।
एकदिन एकजना व्यवसायी साथीलाई उनले सोधे– ‘मलाई राजनीति गर्न समय पनि पाइने र पैसा पनि कमाइने एउटा व्यवसाय गर्नु छ । के गर्दा ठीक होला ?’
ती साथीले पनि फ्याट्टै भने– ‘माछा पालन गर ।’ राम औतारलाई यो कुरा साह्रै मन प¥यो । माछा त पाल्ने तर लगानी खोई ? लगानी गर्ने रकम थिएन । दुईपटक चुनाव हारेको मान्छे । कसैले पनि ऋण पत्याएनन् ।

उनको १४ विगाह जग्गा थियो, साढे तीन विगाहा बेचे । जग्गा बेचेको पैसाले ऋण तिरे । बाँकी रकमले सातवटा पोखरी खने । पोखरीमा सात प्रजातिका माछा हाले– रहु, नैनी, भोक्राहा, बिघेट, ग्रास कार्प, कमन कार्प र सिल्भर कार्प ।
माछा र मेयर
सुरुमा उनले एक लाख ७० हजार रुपैयाँको माछाका भुरा पोखरीमा हालेका थिए । माछा हुर्कँदै गयो, आम्दानी हुन थाल्यो । माछा पाल्ने अनुभव पनि बढ्दै गयो ।
यता माछा बढ्दै थियो, उता राजनीति पनि चल्दै थियो । तत्कालीन एमालेले उनलाई स्थानीय चुनावमा सुखीपुर नगरपालिकामा मेयर उम्मेदवार बनायो । राम औतारले चुनाव जिते । अब उनले माछा र जनता दुवैतिर समय दिनुपर्ने भयो ।
मेयर बनेपछि उनले नयाँ दैनिकी बनाए । बिहान चार बजे उठेर पोखरी पुग्ने, करिब तीन घण्टा माछाको हेरविचार गर्ने, कोही भेट्न आए माछा पोखरीमै भेट्ने । त्यसपछि दिनभर नगरपालिकाको काम गर्ने । साँझ काम सकेर पोखरी नै आउने । राति आठ बजेसम्म पोखरीमै बस्ने ।
माछा पोखरीमा उनलाई तीनजना कामदारले सघाउँछन् ।
५७ वर्षे यी मेयरको माछापोखरी हेर्ने अर्का एकजना पनि छन्, उनका ७७ वर्षे बुवा । दिनभर पोखरीको हेरचाह बुवाले नै गर्छन् । यसअर्थमा यो बाबु छोराको उद्यम हो । मेयर यादव पनि भन्छन्– ‘माछाको चिन्ता जति मलाई छ, बुवालाई त्यो भन्दा बढी छ । दिनभरी माछा पोखरीमा खट्नुहुन्छ ।’
माछा पोखरी किनारमा सनराइज खबरसँग कुरा गर्दै राम औतारले भने– ‘राजनीति गर्ने मानिसले कमाई हुने काम गर्न आवश्यक छ । राजनीतिलाई कमाउने माध्यम बनाइनु हुन्न ।’
सुखीपुरलाई माछापुर
अहिले उनको सिको गर्दै कतिपय गाउँलेले पनि माछा पाल्न थालेका छन् । उनले पनि माछा खेति विस्तार गर्ने योजना बनाएका छन् । सो स्थानमा रहेको आफ्नो जग्गाले अपुग हुने देखिएपछि वरिपरिको जग्गा किन्ने विचार गरेका छन् ।
पोखरी बढाएर समग्र मोहनपुर कमलपुरलाई ‘माछा क्षेत्र’ बनाउने उनको योजना छ । यसका लागि उनले अरुलाई पनि माछा पाल्न प्रेरित गरिरहेछन् । माछा पोखरीका लागि स्यालो ट्यूववेल लगाइएको छ । गाउँमा अरुले पनि स्यालो ट्यूवेल लगाएर खेति र माछा पोखरी गरिरहेछन् ।
‘स्यालो ट्यूववेल राख्न नगरपालिकाले ८५ प्रतिशतसम्म अनुदान दिएको छ’– रावअवतारले जानकारी दिए ।

भन्छन्– ‘माछा पालन गरेर सुखी बन्न सकिन्छ । सुखीपुरलाई माछापुर बनाउन सके धेरै जनताको आर्थिक अवस्था सुदृढ हुने देखेको छु । माछा पालन गरेको थिइन भने म आज यो अवस्थामा हुने थिइन । मलाई खानलाउन पुग्ने आम्दानी छ, मैले भ्रष्टाचार गर्न पर्दैन । यसमा गर्व गर्छु ।’
अन्त्यमा उनलाई प्रश्न गरियो– पैसा कमाउन के गर्नु पर्छ ? समृद्ध नेपाल बनाउन के गर्नु पर्छ ?
उनले भने– ‘आधुनिक खेति गर्नुपर्छ । देशले आधुनिक कृषिमा लगानी गर्नु पर्छ । मानिससँग पर्याप्त आम्दानी भयो भने भ्रष्टाचार आफै घट्छ ।’
(साथमा रोयाण्टर मण्डल ÷ तस्विर : रोशन महर)


प्रतिकृया दिनुहोस