• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विश्वलाई अ‌ातंकित पार्दैछन् इरान र अमेरिका

विदेश डेस्क

विदेश डेस्क

एजेन्सी । इरान र अमेरिका बीचकाे तनाव बढ्दाे छ । युद्धकाे त्राशले विश्व नै भयभीत छ ।

गत शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकाले इरानका कमाण्डर कासिम सुलेमानीलाई मारेकाे थियाे । त्यसपछि अमेरिका–इरानबीच युद्धकाे अवस्था सिर्जना भएको हो । सो आक्रमणको बदलामा इरानले इराकमा रहेका अमेरिकी सुरक्षा अड्डाहरुमा मिसाइल प्रहार गरेको छ । 

इरानी सरकारी सञ्चारमाध्यमहरुले मिसाइल आक्रमण सुलेमानीको हत्याको बदला लिन गरिएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  मिसाइल आक्रमणबाट कुनै क्षति नभएको प्रतिक्रिया दिएका छन् ।

शवयात्रामा उर्लिएको जनसागर

शुक्रबार मारिएका सुलेमानीको पार्थिव शरीर मंगलबार गृहनगर इरानको दक्षिणपूर्वी शहर केरमानमा ल्याइएको थियो ।  उनको पार्थिव शरीरलाई इराकबाट अहवाज, तेहरान हुदै केरमन लगिएको हो ।

अत्येष्टी अघि निकालिएको शवयात्रामा लाखौँ मानिस सहभागी थिए । 

त्यसक्रममा भागदौड मच्चिँदा ५० जनाको मारिएका छन् । भागदौडमा दुई सय भन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ । 

शवयात्राका लागि केरमान पुगेका मानिसहरु शहरमा नअटाएपछि नजिकका पहाडमा पुगेर सुलेमानीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।  सुलेमानीको निधनमा इरानले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

इराकबाट अमेरिकी सेना फिर्ता नहुने 

इराकी संसद्ले अ‌ाफ्नाे देशबाट अमेरिकी फाेज फिर्ता गर्न प्रस्ताव पारित गरेकाे छ । तर अमेरिकाले सेना फिर्ता नगर्ने बताएकाे छ । 

सुलेमानी मारिएपछिकाे तनाव बीचमा इराककाे संसदले अमेरिकी सेना फिर्ता हुनुपर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । त्यसपछि एक अमेरिकी सैन्य जनरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै पत्र लेखेका थिए । 

सो पत्रबारे प्रतिक्रिया दिँदै पेन्टागनका प्रमुख मार्क एस्परले अहिले अमेरिकी फौज फिर्ता गर्ने समय नभएको बताएका हुन् । पत्रमा अमेरिकाले आगामी दिनमा आफ्ना फौजलाई स्थानान्तरण गर्ने उल्लेख रहेको बताइन्छ । मार्कले सो पत्र अमेरिकाको अडानसँग नमिल्ने बताएका छन् ।

इराकका प्रधानमन्त्री आदिल अब्दुल–महदी पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा देखिएका छन् । ट्रम्पले भने इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरे इराकमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

सो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि यसको पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले नै उनको हत्या गर्न निर्देशन दिएकाे बताइन्छ । सुलेमानीलाई ‘आतङ्ककारी’ समूहका नाइकेको संज्ञा अमेरिकाले दिँदै आएको थियो ।

इरानले बदला लिने

इरानका सर्वाेच्च नेता आयोतुल्लाह अली खामेनीले अमेरिकासँग कडा बदला लिने चेतावनी दिएका छन् । इरानका रक्षामन्त्री जावेद जारिफले सो घटना अन्तराष्ट्रिय आतंकवाद भएको बताएका छन् ।

पुटिन र असदबीच भेटवार्ता

इरान र अमेरिका बीच तनाव बढिरहेकाे बेला रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र सिरियाली राष्ट्रपति बसर अल–असदबीच मङ्गलबार दमास्कसमा भेटवार्ता भएको छ । अमेरिका र इरानबीच तनाव बढेका बेला यी दुई नेताबीचको भेटवार्तालाई निकै महत्व साथ हेरिएको छ ।

भेटवार्तामा पुटिनले सिरियामा जारी द्वन्द्व धेरै लामाे नजाने विश्वास व्यक्त गरेका थिए । असदले भने सिरियाको भूमि केन्द्र सरकारको नियन्त्रणमा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका थिए ।

जरिफले भिषा पाएनन्

मंगलबार इरानका विदेशमन्त्री जावेद जरिफ न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय जाने कार्यक्रम थियो । तर, अमेरिकाले जरिफलाई भिषा दिएन । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यसको पुष्टी गरिसकेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघका महासचिवलाई फोन गरेर समय अभावका कारण जरिफलाई प्रवेषाज्ञा दिन नसकिएको बताएका थिए ।  इरानी सञ्चार माध्यमका अनुसार जवाफमा गुटेर्रेसले बैठकमा भाग लिन पाउने इरानको अधिकार रहेको बताएका थिए ।

जरिफले भिषा नपाउनुलाई पनि इरान अमेरिकाबीचको तनावलाई कारण मान्न सकिन्छ । जरिफ बिहीवार संयुक्त राष्ट्रसंको सुरक्षा परिषद् बैठकमा हुने खुला बहसमा इरानको विचार राख्न जाने कार्यक्रम थियो । जरिफको प्रवेषाज्ञा अस्वीकृत भएकोबारे वासिङ्टनले भने आधिकारिक पुष्टि गरेको छैन् ।

 

युरोपेली संघले थप हिंसा भड्किन नदिन सबै पक्षलाई संवेदनशील भएर संयमित हुन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस