• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

अष्ट्रेलियाकाे डढेलाेबाट विश्व नै चिन्तित

विदेश डेस्क

विदेश डेस्क

एजेन्सी । एक महिनादेखि जारी अष्ट्रेलियाको डढेलो भयावह स्थितीमा पुगिसकेको छ । यसले विश्व जगतलाई नै चिन्तित बनाएकाे छ । 

सिड्नी क्षेत्रको आकाशमा रगत जम्मा भएजस्तो रातो भएको छ । यो हप्ता मात्र डढेलो प्रभावित क्षेत्रका हजारौंलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको तटीय क्षेत्र पूरै आगोले छोपेको छ, यसले हजारौंलाई घरबार विहीन बनाएको छ । डढेलोले घेरेर मानिस यता न उताका भएका छन्, उनीहरुको मोबाइलमा टावर छैन भने सो क्षेत्रमा बत्ती पनि छैन । 

एसोसिएट प्रेसले जनाएअनुसार अष्ट्रेलियाको १ करोड २३ लाख ५० हजार एकड जमिन आगोले ध्वस्त बनाइसक्यो । सन् २०१८ मा क्यालिफोर्नियाको डढेलोमा २० लाख एकड भन्दा कम जमिन मात्रै ध्वस्त बनाएको थियो । यो तुलना गर्दा पनि अष्ट्रेलियाको डढेलोबारे अनुमान गर्न सकिन्छ । 

अहिले अष्ट्रेलियाको आकाशमा उडिरहेको धुँवा अन्तरिक्षबाट सजिलै देख्न सकिने भएको छ । सो धुँवाको प्रभाव एक हजार माइल टाढा रहेको न्युजिल्याण्डसम्म परिरहेको छ । सो धुँवाका कारण न्युजिल्याण्डमा तुँवालो लागेको छ । 

अष्ट्रेलियामा अहिलेसम्म डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगिसकेको छ । अधिकारीहरु न्यू साउथ वेल्स र भिक्टोरिया क्षेत्रमा बेलैमा उद्धारका काम गर्न सकिएकाले ठूलो संख्यामा हताहत हुनबाट जोगिएको बताइरहेका छन् । 

अष्ट्रेलियाली सरकारले डढेलो नियन्त्रण गर्न ३ हजारको संख्यामा सेना परिचालन गर्ने अभुतपूर्व निर्णय गरेको छ । उनीहरुले डढेलो नियन्त्रणका साथै खतरा रहेको क्षेत्र खाली गराउने काम गरिरहेका छन् । यस्तै डढेलो नियन्त्रणका लागि अतिरिक्त अग्नि नियन्त्रक वायुयान परिचालन गरिएको छ भने तटीय क्षेत्रमा खतरमा परेकाको उद्धार गर्न ठूलो नौसेनाको जहाज पनि चलाइएको छ । 

अष्ट्रेलियाले डढेलो नियन्त्रणका लागि खटाएको सैनिक तथा उपकरण दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो हो ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले डढेलो नियन्त्रणमा पर्याप्त कदम चाल्न नसकेको भन्दै आलोचना खेपिरहेका छन् । देशमा डढेलोको प्रकोप बढिरहँदा उनी अमेरिकाको हवाईमा बिदा मनाइरहेका थिए ।

डढेलो सुरु भएको एक महिना भइसक्यो, तर उनले डढेलो नियन्त्रणका लागि यो साताबाट मात्र पहल गरेका छन् । सामान्यतया यस्ता डढेलो नियन्त्रण भने राज्य सरकारले गर्ने गरेका थिए ।

अष्ट्रेलियामा अघिल्लो वर्ष सबैभन्दा बढी गर्मी महसुस गरिएको थियो । तर त्यो कीर्तिमान तोड्दै गत शनिबार पश्चिम सिड्नी अवस्थित पेनरिथमा ४८.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।  

‘मैले अहिलेसम्म यस्तो जीवनमै देखेको थिइन’ – पेनरिथका बासिन्दा मार्क फेनिक भन्छन् ।

डढेलोको घटना अष्ट्रेलियामा नौलो नभएपनि लगातार दुई वर्ष देखिको अनावर्षा र तथा यो वर्षको कीर्तिमानी तापक्रमका कारण डढेलो उग्र हुँदै गइरहेको छ । यही कारण पनि यो वर्ष सेप्टेम्बरको पहिलो साताबाटै डढेलो लाग्‍न सुरु भयो ।   

स्थानीय समयअनुसार सोमबार बिहान ६ बजेसम्म कुल १ सय ३६ स्थानबाट डढेलो फैलिइरहेको छ । त्यसमध्ये ६९ वटालाई निभाउने प्रयास पनि गरिएको छैन । अग्नि नियन्त्रकहरु साना भन्दा पनि ठूला डढेलोलाई नियन्त्रण गर्न प्रयासरत छन् । 

डढेलोले अहिलेसम्म ४८ करोड वन्यजन्तुलाई जलाइसकेको बताइएको छ । 

याे पनि पढ्नुहाेस्

अझै नियन्त्रणमा आएन अस्ट्रेलियाको डढेलो 

प्रतिकृया दिनुहोस