अझै नियन्त्रणमा आएन अस्ट्रेलियाको डढेलो
एजेन्सी । दक्षिणपूर्वी अष्ट्रेलियाको डढेलोले आकाश कालो भएको छ भने निरन्तर खरानी बर्सिरहेको छ । यही डढेलोका कारण ठूला शहरका विद्युत् आपूर्ति प्रभावित हुने खतरा बढेको छ ।
महिना दिन देखि अष्ट्रेलियामा लागिरहेको यो डढेलोले अहिले विश्वको ध्यान तानिरहेको छ । डढेलो नियन्त्रणका लागि ३ हजार भन्दा बढी सैन्य दस्तालाई परिचालित छन् ।
अहिलेसम्म यो डढेलोले ६० हजार वर्ग किलोमिटर क्षेत्रलाई खरानी पारिसकेको छ । युरोपेली राष्ट्र बेल्जियमको कूल क्षेत्रफलको तुलनामा यो क्षेत्र दुई गुणा ठूलो हो ।
गत अगस्ट महिनामा अमेजन क्षेत्रको डढेलोमा २५ हजार वर्ग किलोमिटर क्षेत्र जलेर ध्वस्त भएको थियो । यस्तै सन् २०१८ मा क्यालिफोर्नियाको डढेलोमा ८ हजार वर्ग किलोमिटर जंगल ध्वस्त भएको थियो ।
‘हामी अहिले नक्सामा नदेखिने क्षेत्रमा छौं’ – न्यू साउथ वेल्स राज्यका प्रिमियर ग्लेडिस बेरेजिक्लियनले भने ।
‘हामीले यस्तो अनुभव यसअघि कहिल्यै गरेका थिएनौं’ – उनले भने – ‘कतिपय बस्तीका बासिन्दाले आजसम्म डढेलो देखेका थिएनन्, उनीहरुको उठीबास नै लाग्ने अवस्था छ । ’
पछिल्लो सेप्टेम्बर देखि यही घटनामा २३ जनाको निधन भइसकेको छ । न्यू साउथ वेल्सबाट मात्र १७ जनाको निधन भएको हो । यस्तै अहिलेसम्म १५ सय घरहरु जलेर ध्वस्त भइसके ।
कंगारु आइल्याण्ड भनेर चिनिने एडिलेड क्षेत्रको स्थिती पनि भयावह छ । गत शुक्रबार त्यहाँ दुई व्यक्ति गाडीमा हुँदा आगोको मुस्लोले छोपेर त्यही हताहत भए ।
डढेलोले मानिसलाई मात्र होइन, ठूलो संख्या वन्यजन्तुलाई नष्ट पारेको छ । सिड्नीको एक विश्वविद्यालयले प्रक्षेपण गरे अनुसार न्यू साउथ वेल्समा मात्र सो डढेलोमा परी अहिलेसम्म ४८ करोड वन्यजन्तु नष्ट भएसकेको छ । विज्ञहरु भने यो संख्या अझै धेरै हुने विश्लेषण गरिरहेका छन् ।
यो डढेलो नियन्त्रणमा नआउनुको मुख्य कारण बढ्दो तापक्रम र तिव्र गतिको हावा रहेको बताइन्छ । डढेलोले अहिले विद्युत्का टा«न्समिसन लाइन, दुई सबस्टेशनमा असर पारिसकेको छ । यसको कारण करिब ८० लाखको संख्यामा रहेका सिड्नी बासीले अँध्यारोमा बस्नु पर्ने सम्भावना रहेको अधिकारीहरु बताइरहेका छन् ।
तापक्रमको कीर्तिमान
डढेलोका कारण सो क्षेत्रका अचाक्ली तापक्रम वृद्धि भएको छ । यसअघिका सबै उच्च तापक्रमका कीर्तिमानहरु अहिले भंग भइसकेका छन् । यतिबेला अष्ट्रेलियाको सबै भन्दा बढी जनघनत्व भएका दुई राज्य न्यू साउथ वेल्स र भिक्टोरियाका स्थानीयहरु तातो हावाका कारण समुद्री किनारमा जान बाध्य भएका छन् ।
समस्या बढ्दै गएकाले सो राज्यमा संकटकाल घोषणा गरिएको छ । ती तीन राज्यका करिब १ लाख जनतालाई घर छोड्न पनि आग्रह गरिएको छ ।
सिड्नीको तापक्रम अहिले ४८.९ डिग्री सेल्सियस पुगेको छ । यो अहिलेसम्मकै उच्च तापक्रम रहेको बताइएको छ । यस्तै राजधानी क्यानबेराको तापक्रम पनि ४४ डिग्री पुगेको छ र यो अहिलेसम्मकै उच्च रहेको मौसम विज्ञान ब्यूरोका प्रवक्ताले बताएका छन् ।
हजारौंको संख्यामा स्वयंसेवी अग्नी नियन्त्रकहरु डढेलो नियन्त्रणमा जुटेका छन् भने कतिपय घरधनी आफ्ना घर जोगाउन उनीहरुसँगै लागिपरेका छन् ।
सिड्नीबाट चार घण्टाको दूरीमा रहेको बेटेमान्स बे को समुद्री तटमा स्थानीयहरुले समूह बनाइ अग्निनियन्त्रक दललाई डढेलो नियन्त्रणका लागि सघाइ रहेका छन् ।
सामान्य अवस्थामा पर्यटकको चहलपहल हुने सो टुरिस्ट स्पटमा अहिले स्थानीयहरु आफ्नो घर छोडेर र खुला ठाउँमा टेण्ट गाडेर वा क्याराभान शरण लिइरहेका छन् ।
नयाँ वर्षको अघिल्लो दिन डढेलोले आफ्नो ग्रामीण बस्तीलाई ध्वस्त बनाएपछि विस्थापित भए ५७ वर्षिय मिक कमिन्स र उनको श्रीमती । ‘हामी यहाँ बस्न गाह्रो हुन्छ, अब निस्कौं भनिरहेको थिएँ । त्यहाँबाट हामी समुद्री किनारमा गयौं र त्यसपछि डढेलो पहाडमाथि नै आइपुग्यो ’ – एएफपीसँगको कुराकानीमा उनले भने ।
‘सन् १९९४ को डढेलोमा पनि म यहीं थिएँ, त्यो बेला मैले साह्रै नराम्रो भयो भन्ठानेको थिएँ । तर त्यो त बार्बिक्यु मात्र रहेछ’ – अहिलेको डढेलोसँग तुलना गर्दै उनले भने ।
डढेलोबाट निस्केको धुँवाका कारण यतिबेला भिजिबिलिटीको आधारमा क्यानबेराको विश्वकै खराब भएको बताइएको छ ।
न्यू साउथ वेल्सको दक्षिणी भाग कुमा क्षेत्रमा डढेलोका कारण बाढी नै आएको छ । करिब ४५ लाख लिटर पानी रहेको ठूलो टावर भत्कँदा त्यस क्षेत्रमा रहेका गाडीहरु बगायो भने त्यहाँका घरहरुमा हिलो सहितको पानी पनि छिरेको छ ।
‘पहिला यति भयानक डढेलो, अहिले बाढी । लगातार प्रकोप आएको छ’ – आत्तिएका एक स्थानीले नाम नबताउने शर्तमा एएफपीलाई बताए ।


प्रतिकृया दिनुहोस