• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

यसकारण र यसरी सिनिक्क भयो दुर्गा प्रसाईंको आन्दोलन (१० कारण)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । समाजमा अनौठो तरंग उत्पन्न गरेको दुर्गा प्रसाईंको आन्दोलन सिनिक्क भएको छ । यो समूहले अब आन्दोलनको नाममा आज काठमाडौंका तीन ठाउँमा सांस्कृतिक कार्यक्रम मात्र गर्ने भएको छ । दुर्गा प्रसार्ईंको आन्दोलनले देशमा ठूलो उथलपुथल ल्याउँछ भन्ने प्रचार एकथरीले गर्ने गरेका थिए । त्यस्तो प्रचार पत्याएर आतंकित हुने मानिसको संख्या पनि धेरै थियो । तर, दुर्गा प्रसाईंको आन्दोलन अर्थहीन मात्र ठहरिएन, सम्पूर्ण रुपमा असफल पनि भएको छ । 

दुर्गाको आन्दोलन असफल हुनुका १० कारण:

१) दुर्गा प्रसाईंको आन्दोलनको एक मात्र शक्ति उनको थुतुनो मात्र थियो । धारिलो थुतुनोले अनेक भ्रम फैलायो । बिना तथ्य प्रमाणका अनेक तिलस्मी गफ दिएपछि दुर्गा प्रसाईंलाई धेरैले ‘थुतुनो शिरोमणी’ भन्न थाले । कुनै विचार थिएन, सिर्फ गालीगलौजका भरमा आन्दोलन गर्न खोज्दा असफल भयो । आन्दोलनको सैद्धान्तिक वैचारिक आधार सिर्फ गालीगलौज र अरुको चरित्रहत्या थियो । 

२) आन्दोलनमा लाग्यो भने २० लाख भन्दा थोरै ऋण हुनेको मिनाहा हुन्छ भनेर दुर्गाले गरेको प्रचार घातक बन्यो । सुरुमा केहीले पत्याए तर दुर्गाले नेपालको वित्तीय संरचना ध्वस्त पारेर आफूले खाएको अर्बाैं ऋण नतिर्ने दाउ गरेको खुलस्त भयो । त्यसैले आन्दोलन उठ्दै उठेन । 

३) बाहिरबाट केही सय मानिस ल्याउने, युटुबरहरु प्रयोग गरेर थुतुनोको बलमा होहल्ला गर्ने, त्यसपछि आफ्नो आन्दोलनमा लाखौं मानिस आउँछन् भन्ने भ्रम भयो । साह्रै कच्चा रणनीति अपनाउँदा आन्दोलन उठ्दै उठेन, थालेकै दिनबाट सिनिक्क हुन थाल्यो । 

४) दुर्गाले प्रहारको केन्द्र एमाले र केपी ओलीलाई बनाउनु ठूलो भुल भयो । सरकार विरुद्ध प्रहार केन्द्रीत गरेर आन्दोलन चलाउनुपर्नेमा प्रमुख प्रतिपक्षी विरुद्ध आन्दोलन गरेको जनताले मन पराएनन् । एमालेको शक्तिलाई कम आक्नु आत्मघाती भयो । त्यसैले आन्दोलन सिनिक्क भयो । 

५) विगतमा दुर्गाले अलिअलि थुतुनो चलाउँदा मासिलाई मनोरञ्जन भएको थियो, अलि बढि थुतुनो चलाएर अनेक अनर्गल आरोप लगाउँदा मानिसहरुले अलिअलि पत्याए । त्यसपछि बढि नै थुतुनो चलाउने, तथ्यहीन आरोप मात्र लाउने गरेपछि दुर्गालाई मानिसले पत्याउन छाडे । फलतः आन्दोलन उठ्दै उठेन ।

६) दुर्गा प्रसाईंको माग र नारा बारम्बार फेरियो । राजतन्त्र ल्याउने, हिन्दू राष्ट्र बनाउने, ऋण मिनाहा गराउने जस्ता माग र नारा दिइयो । बारम्बार प्राथमिकता फेरियो । आफ्नो आन्दोलनमा पूर्व राजा आउने भनेर झुठो प्रचार गरियो । पूर्व राजाले दुर्गासँग आफ्नो कुनै सम्बन्ध छैन भनेर संकेत दिएपछि दुर्गा झुठमाथि झुठ सावित हुनुभयो । 

७) दुर्गा महान हुन् भनी आन्दोलनको उठान गर्न खोजियो तर आन्दोलन थालिएपछि दुर्गा झुठैझुठको भण्डार हुन् भन्ने सबैले बुझे । उत्तेजक र स्तरहीन भाषण, अभद्र र अमर्यादित शैली, हावादारी कुरा आदिले दुर्गाको क्रेज स्वाट्टै घट्यो । हिरो बन्न खोज्नुभएका दुर्गा प्रसाईं अब भिलेन भन्ने लाइनमा हुनुहुन्छ । 

८) दुर्गा प्रसाईंले आन्दोलन होइन क्रान्ति नै गर्न खोजेको भन्नुभयो । तर, उहाँको अभियान फगत एउटा जुलुसमा सीमित भयो । माग के भन्ने स्पष्ट थिएन, माग कोसँग भन्ने पनि स्पष्ट थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सघाउने र भारतलाई रिझाउने लाइनमा मात्र दुर्गा प्रसाईंले कुरा गर्न थाल्नुभयो । यस्तो भएपछि आन्दोलन र क्रान्ति फगत जुलुसमा सीमित हुनु स्वाभाविक थियो । 

९) आन्दोलनका लागि नेतृत्वको विश्वसनीयता र विचार निर्णायक तत्व हो । दुर्गा प्रसाईंको विश्वसनीयता देखिएन । उहाँको आर्थिक लेनदेन र बेइमानीका अनेक प्रकरण सार्वजनिक भए । अरुलाई आरोप लाउने तर आफू झन् भ्रष्ट हुने भएपछि त्यस्तो नेतृत्वको पछाडि कोही लाग्दैन । जोसँग बोल्दागफ गर्दा पनि कल र भिडियो रेकर्ड गर्ने, त्यस्ता रेकर्ड देखाएर ब्ल्याकमेलिङ गर्ने, रेकर्ड सार्वजनिक गर्ने जस्ता हर्कत गरेपछि दुर्गाको निकट पर्न कोही चाहेनन् । दुर्गाका वरिपरि पनि ऋण खाएका तर तिर्न नपरोस् भन्नेहरुको जमात भेला भयो । ऋण खाएर भाग्नेहरुले गरेको आन्दोलन कहिँ पनि नपुग्ने निश्चित थियो । 

१०) केही खास विदेशी शक्तिहरुले उकासेको भरमा आन्दोलन हुन सक्दैन । जनतामा केही पनि जरा नहुने, थुतुनो चलाएको र विदेशीले धाप मारिदिएको भरमा आन्दोलन कसरी सम्भव हुन्छ र ? दुर्गाले आन्दोलनको केन्द्रमा आफैलाई राख्नुभयो, दुर्गा भनेको भगवान हो, दुर्गालाई राजा बनाउनुपर्छ भनेजस्ता कुरा दुर्गा वरिपरिबाट आउन थाल्यो । राजै बन्छु भन्दै दुर्गा हिँड्न थाल्नुभयो । यस्ता दुईपैसे बोलि व्यवहारको भरमा आन्दोलन नउठ्नु स्वाभाविक थियो ।

प्रतिकृया दिनुहोस