• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

जी-२० सम्मेलनमा ग्रहण, भारत तनावमा (भिडियाे)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । विश्व राजनीतिमा भइरहेको निरन्तर परिवर्तनको नेपालमा के असर पर्छ ? यसबारे नेपालमा खासै बहस भइरहेको छैन । छिमेकी भारत र चीनको सेरोफेरोमा विश्व राजनीतिका नयाँनयाँ घटना विकास भइरहेको छ । पछिल्लो घटना हो, चीनका राष्टपति सी चिनफिङको भारत भ्रमण स्थगित भएको छ । सीको भ्रमण स्थगित हुँदा भारतलाई ठूलो धक्का लागेको छ । 

भारतमा भदौ २३ र २४ गते जी २० सम्मेलन हुँदैछ । यो सम्मेलनमा २० देशका सरकार प्रमुखहरु आउने भनिएको थियो । विश्व महाशक्ति देश चीनका राष्टपति नआउने भएपछि भारतमा हुने सम्मेलनमा ग्रहण लागेको छ । ग्रहणलाई झन् गाढा बनाउने काम रुसका राष्टपति भ्लादमिर पुटिनको अनुपस्थितिले गरेको छ । पुटिन पनि भारत नजाने निश्चित भइसकेको छ । 

भिडियाे:

पछिल्ला केही समयदेखि आफ्नो कूटनीतिक शैली र विश्व सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाइरहेको साउदी अरेवियाका सरकार प्रमुख राजकुमार सलमान विन पनि दिल्लीमा नआउने सम्भावना छ तर अन्तिम निर्णय भइसकेको छैन । 

जी २० मा भारत, रुस, चीन सहित १९ वटा देश छन् । युरोपियन युनियन पनि जी २० मा छ, युनियन सहित २० पक्ष सहभागी भएकाले यसलाई जी २० भनिन्छ । जी भनेको ग्रुप हो । अमेरिका समर्थित सात देश सहभागी जी ७ पनि निरन्तर सक्रिय छ । जी २० पनि जी ७ कै अनुकरणमा बनेको हो । 

केही दिन अघि दक्षिण अफ्रिकामा ब्रिक्स देशहरुको सम्मेलन भएको थियो । ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सहभागी छन् । सो सम्मेलनमा भारत र चीनका सरकार प्रमुख बीच भएको भेटवार्ता खासै सौहार्द नभएको समाचार आएको थियो । लगत्तै हुन लागेको जी २० सम्मेलनमा चिनियाँ राष्टपतिको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । 

जी २० लाई अमेरिकाले चीन रुस विरोधी मोर्चा बनाउने प्रयास गर्दै आएको छ । यो कुरा बुझेर रुसले जी २० सम्मेलनबाट जारी हुने प्रस्तावमा आफ्नो सहमति हुनैपर्ने भनेको छ । सम्मेलनमा पुटिनको सट्टा रुसका विदेश मन्त्री सेर्गेई लाभरोभको सहभागिता हुनेछ भने चीनबाट त्यहाँका प्रधानमन्त्री ली चियाङको सहभागिता हुनेछ । 

विश्व राजनीतिमा एकातिर अमेरिका र युरोपका केही देशको ध्रुव छ भने अर्कातिर चीन र रुसको अर्काे ध्रुव छ । भारतले दुवैतिर सन्तुलन बनाएर फाइदा लिने प्रयास गर्दागर्दै पनि अमेरिकातिर झुकाव देखाएको छ । अघिल्लो महिनाको ब्रिक्स सम्मेलनदेखि जी २० सम्मेलनसम्म आइपुग्दा भारतको झुकाव अमेरिकातिर खुलेरै भएको देखिन थालेको छ । यो कारण पनि भारतमा हुन लागेको जी २० सम्मेलनलाई रुस र चीनले थोरै महत्व दिएका हुन सक्ने आकलन गरिएको छ । 

जी २० सम्मेलनको सेरोफेरोमा चीन र भारत बीच तनाव बढ्दै गएको छ भने मौकाको फाइदा उठाउन अमेरिका अगाडि सरेको छ । जी २० सम्मेलनमा अमेरिकी राष्टपति जो वाइडेनको उपस्थिति हुनेछ । अस्वाभाविक के भने सम्मेलन सकिएपछि पनि वाइडेन थप एक दिन भारतमा रहने र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष वार्ता गर्ने कार्यक्रम छ । भारतलाई चीन र रुस विरोधी कित्तामा पूरै खुलेर उभ्याउने वाइडेनको प्रयास हुनेछ । 

भारतले आफ्नो नियन्त्रणमा रहेको विवादास्पद भूमि अरुणाचल र कश्मिरमा जी २० का कार्यक्रमहरु गर्ने योजना बनाएको थियो । तर, जी २० का कैयन देशले विरोध गरेपछि दिल्लीमा मात्र सम्मेलन हुन लागेको हो । सम्मेलन आयोजनालाई लिएर भारतीय रणनीति फेल भइसकेको थियो, अहिले आएर रणनीतिक महत्वका देशका सरकार प्रमुखहरु अनुपस्थित हुने भएपछि सम्मेलनमा थप ग्रहण लागेको हो ।

प्रतिकृया दिनुहोस