वैदेशिक रोजगारीमा गएका कामदारको अनुगमन गर्न सुझाव
काठमाडौ । सरकारलाई गन्तव्य मुलुकसँग द्धिपक्षीय सम्झौता विस्तार गर्न अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले सुझाव दिएको छ ।
नेपालमा बढ्दै गएको आप्रवासन समस्यालाई व्यवस्थित र कम गर्न आईओएमले २४ बुँदे सुझाव दिएको हो । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा काठमाडौंमा कार्यक्रम गरि आइओएमले नेपालको आप्रवासन समस्या सम्बन्धी २०१९ को प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भने– ‘आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिएको छ ।’
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई भाषा, ज्ञान र सीप लगायतका विषयमा दक्ष बनाउन कल्याणकारी काम गर्दै आएको उनले बताए । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखिएको मन्त्री यादवको भनाइ छ ।
प्रतिवेदनमा आप्रवाससम्बन्धी प्रशासनका लागि सबै तहमा राष्ट्रिय समन्वय संरचनाको स्थापना गर्नुपर्ने उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको लागि बनाइएका कानूनहरुको पूर्ण कार्यान्वयन र अनुगमन गर्नु पनि सुझाव दिइएको छ ।
त्यस्तै कानूनी प्रकृयालाई सरल बनाउनुपर्ने, गन्तव्य मुलुकसँग द्धिपक्षीय सम्झौता विस्तार गर्दै जाने तथा घरेलु कामदारका रुपमा गएकाहरुको अनुगमन बढाउनुपर्ने लगायतका सुझाव दिइएको छ । आइओएमले नेपाल सहित ८१ वटा देशको अप्रवासन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो ।


प्रतिकृया दिनुहोस