साउन १ गतेदेखि नेपालमा विदेशी च्यानल बन्द हुने
काठमाडाैं । नेपालमा स:शुल्क प्रसारण हुने सबै विदेशी च्यानलहरु साउन १ गतेदेखि बन्द हुने भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे सूचना तथा प्रशारण विभागले साउन १ गतेदेखि सबै सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । उपभोक्ताकाे न्यायका लागि ल्याइएको शुल्कको प्रणालीलाई वितरकले बेवास्ता गर्दा च्यानल नै बन्द हुने अवस्था सृजना भएकाे विज्ञप्तिमा उल्लेख छ ।
'अला कार्ट' शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएकाले बन्द गर्नुपर्ने अवस्था आएको विभागले जनाएकाे छ । 'मन्त्रालयबाट आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय भई पूर्ण रुपमा लागू गर्ने तयारी रहेको अवस्थामा यसका लागि आवश्यक बुके प्राप्त नभएकाले प्रचलित कानूनी व्यवस्थाको कार्यान्वयनका लागि ०८० साउन १ गतेबाट सबै सशुल्क विदेशी च्यानलहरुको प्रसारण बन्द हुने अवस्था सिर्जना भएको छ, टेलिभिजन च्यानलका उपभोक्ताको हित र शुल्क प्रणालीको पारदर्शिताका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय कार्यान्वयनलाई दृढतापूर्वक सहयोग गरिदिनु हुन सम्बन्धित सम्पूर्ण उपभोक्ताहरुमा अनुरोध गर्दछौं'- विज्ञप्तिमा लेखिएकाे छ ।
सरकारले आगामी साउन १ गतेबाट आलाकार्ट शुल्क प्रणाली पूर्ण रूपमा लागु हुने जानकारी गराउँदै असार २८ गतेभित्र स:शुल्क विदेशी च्यानलहरूको शुल्क र बुके विभागलाई उपलब्ध गराउन असार १७ गते पत्राचार गरेकाे थियाे । साे अवधिमा कुनै पनि शुल्क तथा बुके प्राप्त नभएकाले तोकिएको समयमा नयाँ शुल्क प्रणाली लागू गर्न अवरोध देखिएको विज्ञप्तिमा उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ०७९ चैत १५ गते टेलिभिजन कार्यक्रमका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भार न्यायोचित बनाउन हालको शुल्क प्रणालीमा सुधार गरी आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय गरेको थियाे । 'यस प्रणालीको कार्यान्वयनका लागि च्यानलको शुल्क र बुके उपलब्ध गराउन नेपालका सबै अपरेटर र विदेशी टेलिभिजन च्यानललाई पत्राचार गरी विदेशी च्यानलको डाउनलिंक अनुमतिप्राप्त संस्थाहरु (वितरक) लाई जानकारी गराउँदै पहिलो पटक ०८० वैशाख १७ गते पत्राचार गरेको थियो, सो पश्चात् २०८० वैशाख ३१ पत्र लेखि पुनः ताकेता गरिएको थियो, यसपछि ०८० असार १७ गते नेपालका सबै विदेशी सिग्नल वितरक र अपरेटरहरुलाई पुनः पत्राचार गर्दै २०८० साउन १ गतेबाट आलाकार्ट शुल्क प्रणाली पूर्ण रुपमा लागु हुने जानकारी गराउँदै ०८० असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलहरुको शुल्क र बुके यस विभागलाई उपलब्ध गराउन भनिएको थियो, त्यसअनुसार कुनै पनि शुल्क तथा बुके प्राप्त नभएकाले तोकिएको समयमा नयाँ शुल्क प्रणाली लागु गर्न अवरोध देखिएको छ'- विज्ञप्तिमा उल्लेख छ ।
आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएको उल्लेख गर्दै विभागले याे उपभोक्तालाई न्याय हुने प्रणाली भएकाे विज्ञप्तिमा लेखेकाे छ । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा रहेको विभागले स्मरण गराएकाे छ ।
नेपाल सरकारको निर्णय कार्यान्वयन भएपछि टेलिभिजन दर्शकले आधारभूत प्याकेजका लागि २५० रुपैयाँ प्रतिमहिना र स:शुल्क च्यानल समेत गरी अधिकतम कुल ५०० प्रतिमहिना तिर्नुपर्ने र सेवा प्रदायकले हाल इण्टरनेट र टेलिभिजन च्यानल गरी लिईराखेको कुल शुल्कमा थप गरी शुल्क बढाउन नपाउने व्यस्था समेत गरिएको विभागले जनाएकाे छ । नयाँ व्यवस्था अनुसार उपभोक्ताबाट उठाउन सकिने बुके र प्रति च्यानलको मूल्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट निर्धारण हुने हुन्छ । नयाँ प्रणालीमा शुल्क प्रणाली पारदर्शी भई उपभोक्ता तथा यस प्रणालीमा संलग्न हुने सबै संस्थाहरुलाई फाईदा हुने विभागकाे विश्वास छ ।



प्रतिकृया दिनुहोस