अनेरास्ववियुद्वारा शीतल निवास अगाडि प्रदर्शन, प्रहरीले गर्यो लाठीचार्ज (भिडियाे)
काठमाडाैं । नागरिकता विधेयक प्रमाणीकरणकाे विराेधमा नेकपा एमाले निकट अनेरास्ववियुले राष्ट्रपति कार्यालय शीतल अगाडि विराेध प्रदर्शन गरेकाे छ ।
बुधबार राष्ट्रपति रामचन्द्र पाैडेलले विवादास्पद र निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अनेरास्ववियुले त्यसकाे विराेधमा शीतल निवास अगाडि प्रदर्शन गरेकाे हाे ।
शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाे अनेरास्ववियुका नेता-कार्यकर्तमाथि प्रहरीले लाठीचार्ज गरेकाे छ । प्रहरीकाे लाठीचार्जबाट अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव दिपेश प्रसाईं, स्थायी कमिटी सदस्य कमलराज जोशी, आर. आर. क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्का लगायत नेता-कार्यकर्ता घाइते भएका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिव प्रकाश पौडेल लगायत १७ जना बढी नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।
भिडियाे:
यता नागरिकता विधेयक प्रमाणीकरणकाे विराेधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आफ्ना नेता-कार्यकर्तामाथि भएकाे आक्रमणकाे अनेरास्ववियुले निन्दा र भर्त्सना गरेकाे छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालय अगाडि शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका नेता-कार्यकर्तामाथि भएकाे आक्रमणकाे भर्त्सना गर्नुभएकाे हाे ।
अनेरास्ववियुले विदेशी प्रभु खुशी पार्नका लागि प्रमाणीकरण गरिएकाे नागरिकता विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेकाे छ । 'आजै मात्र मन्त्रिपरिषद्को सिफारिसमा गैर संवैधानिक तवरबाट राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको राष्ट्रघाती नागरिकता विधेयकको विरुद्धमा राष्ट्रपति कार्यालय अगाडी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका साथीहरुमाथि गरिएको बर्बर प्रहरी दमन र गैरन्यायिक तवरबाट गरिएको गिरफ्तारीको अनेरास्ववियु घोर निन्दा र भत्र्सना गर्दछ'- विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियुले प्रहरीकाे आक्रमण परी घाइते भएका नेता-कार्यकर्ताले शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दै पक्राउ परेका नेता-कार्यकर्तालाई तत्काल रिहाइ गर्न सरकार र प्रहरी प्रशासन समक्ष माग गरेकाे छ ।
प्रहरीको आक्रमणबाट अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव दिपेश प्रसाईं, स्थायी कमिटी सदस्य कमल राज जोशी, आर. आर. क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्का लगायत नेता-कार्यकर्ता घाइते भएका अनेरास्वियुले जनाएकाे छ ।
अनेरास्ववियुले केन्द्रीय कमिटीका सचिव प्रकाश पौडेल, दीपक धामी, दिपेश प्रसाईं, विनिता काफ्ले, अनुशासन आयोग अध्यक्ष शोभा सापकोटा, स्थायी कमिटी सदस्यहरु शोभा सापकोटा थापा, राजकुमार ढकाल, कमल जोशी, अमित महर, भरत सिंह धामी, आर विक्रम ओखेडा, धर्मराज न्यौपाने, केन्द्रीय कमिटी सदस्यहरु रेखा न्यौपाने, उज्ज्वल खड्का अनेरास्ववियुका नेताहरु उमेश भण्डारी, अनुप चापागाईं, पंकज पाण्डे लगायत नेतालाई तत्काल विना शर्त रिहाइ गर्न माग गरेकाे छ ।
नेताहरुलाई रिहाइ नगरे सशक्त प्रतिकार गर्ने चेतावनी पनि अनेरास्ववियुले दिएकाे छ । विदेशी प्रभु खुशी पार्ने नियतसाथ पारित गरिएको उक्त नागरिकता विधेयक तत्काल फिर्ता गराउन देशव्यापी रुपमा जनदबाब दिन अनेरास्ववियुले सबैमा अपिल पनि गरेकाे छ ।


प्रतिकृया दिनुहोस