एमडीएमएस प्रणाली आजदेखि लागू हुँदै, वैदेशिक रोजगारीबाट फर्केकाले दुई वटा मोबाइल ल्याउन पाउने
काठमाडाैं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।
नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न आजदेखि एमडीएमएस पूर्ण रुपमा लागू हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै यस विषयमा जानकारी दिएकाे हाे ।
यसअघि नै लागू हुने भनिएको यो प्रणाली कार्यान्वयनमा आउन सकेको थिएन । सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडीएमएस पूर्ण रुपमा लागू हुन लागेको हो ।
व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमएडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
नेपाल सरकारको निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति आफैले राहदानी वा नागरिकता प्रयोग गरेर दर्ता गर्न सक्नेछन् । यसका लागि प्रणालीमा डिपार्चर स्ट्याम्प र अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास पनि राख्नुपर्ने हुन्छ ।
नेपालभित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए-नभएको एकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।
.jpg)
विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा माेबाइल ल्याउन पाउने
एमडीएमएस प्रणाली लागू भएसँगै विदेशबाट फर्केका नेपालीले आजदेखि दुई वटासम्म मोबाइल नेपाल ल्याउन पाउने छन् । वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ६ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भन्सार विभागले आइतबार सूचनामार्फत जानकारी दिएकाे छ ।
यात्रुहरुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ बमाेजिम विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको महसुल नतिरी ल्याउन पाउने एक थान माेबाइल सेटकाे घाेषणा भन्सार कार्यालयमा गर्नुनपर्ने व्यवस्था रहेको विभागले जनाएकाे छ । त्यसरी ल्याएकाे फोन दूरसञ्चार प्राधिकरणकाे एमडीएमएस प्रणालीमा व्यक्ति स्वयंमले अनलाइनमार्फत दर्ता गर्नुपर्ने विभागले जनाएकाे छ ।
वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठककाे निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा सिलप्याक वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउनेछन् । 'श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा ६ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको सम्बन्धमा भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ'- विभागकाे सूचनामा उल्लेख छ ।
अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एउटा मात्रै माेबाइल ल्याउन पाउनेछन् ।
.jpg)


प्रतिकृया दिनुहोस