• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भोलिदेखि एमडीएमएस प्रणाली लागू हुने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भोलिदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न भोलि जेठ १ गतेदेखि एमडीएमएस पूर्ण रुपमा लागू हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै यस विषयमा जानकारी गराएको हो । 

यसअघि नै लागू हुने भनिएको यो प्रणाली कार्यान्वयनमा आउन सकेको थिएन । सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडीएमएस पूर्ण रुपमा लागू हुन लागेको हो । 

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमएडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । 

नेपाल सरकारको निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति आफैले राहदानी वा नागरिकता प्रयोग गरेर दर्ता गर्न सक्नेछन् । यसका लागि प्रणालीमा डिपार्चर स्ट्याम्प र अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास पनि राख्नुपर्ने हुन्छ । 

नेपालभित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए-नभएको एकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस