संसद सचिवालयबाट प्लाष्टिक गिलास हटाउन सांसदको माग
काठमाडौं । संसद् सचिवालयमा प्लाष्टिकको गिलासमा पानी खान नपाइने व्यवस्था गर्न एक सांसदले माग गरेकी छिन् । सांसद विमला पौडेलले सो माग गरेकी हुन् ।
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले संसद सचिवालयमा प्लाष्टिकको गिलासमा पानी खाने व्यवस्था भएकोले त्यसलाई हटाएर कागजको गिलासको व्यवस्था गर्न भनेकी हुन् । उनले भनिन्– ‘प्लाष्टिकको गिलास कुहिन चारदेखि पाँच सय वर्ष लाग्छ । त्यसैले कागजको गिलास प्रयोग गरौं । हामीले यहिँबाट वातावरण मैत्री बन्न सुरु गरौं।’
उनले सिंहदरबारको गेटमा पैदल यात्री भित्र पस्ने बाटो छ तर बाहिर निस्कने बेग्लै बाटो छैन, मोटर कुद्ने ठाउँबाटै पैदल यात्री निस्कुनपर्दा समस्या भएको भनिन्– ‘सिंहदरबार गेटमा पैदल यात्रीलाई सुविस्ता हुनुपर्यो ।’
अकी सांसद विन्दादेवी रानाले बजेट जति प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको जिल्लामा केन्द्रित भएकाले यस्तो विकासले देशलाई फाइदा हुँदैन भनिन् । उनले नेपालको वजेट पञ्चायतकालीन शैलीको भएको दावी पनि गरिन् ।
रामप्रीत पासवानले दलित आयोग तत्काल गठन गर्न माग गरे ।


प्रतिकृया दिनुहोस