विद्यालयको पैसा हिनामिना गर्ने प्रधानअध्यापकसहित चार विरुद्ध मुद्दा
काठमाडौं । विद्यालयकाे भवन बनाउने क्रममा आर्थिक हिनामिना गर्ने व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकालसहित चार जना विरुद्ध मुद्दा दायर गरिएकाे छ ।
पाल्पास्थित मोहनकन्या माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसहित चार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
देवराजले भवन निर्माण उपभोक्ता समितिका सचिव दिपकप्रसाद ज्ञवाली र साे विद्यालयका प्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठसँग मिलेर सात लाख तीस हजार रुपैयाँ बराबरको रकम हिनामिना गरेको आयाेगले जनाएकाे छ ।
यस्तै जिल्ला शिक्षा कार्यालय पाल्पाका तत्कालीन सब–इन्जिनियर रामस्वरुप चौधरीले समेत आफ्नो पदको ख्याल नगरी वास्तविक कामको खर्च भन्दा बढी खर्च देखाई गलत प्रतिवेदन पेश गरेको खुलेकाे छ ।
आराेपीहरुले वास्तविक हिसाब नदेखाई झुठो बिल पेश गरेको आयोगका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
आयोगले चारैजना भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार कसूर बमोजिम तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगो बराबरबको रकम मागदाबी गरेको छ ।
यस्तै रामस्वरुपलाई सोही ऐन अनुरुप तीन महिनादेखि एक वर्ष सम्म कैद सजायका साथै १० हजारदेखि पचास हजारसम्म जरिवाना माग गर्दै आयाेगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


प्रतिकृया दिनुहोस