• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

तीन दाजुभाइले तहल्का मच्चाए श्रीलंकाकाे राजनीतिमा

विदेश डेस्क

विदेश डेस्क

कोलम्बो, श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले शुक्रबार १६–सदस्यीय मन्त्रीमण्डलको घोषणा गरेका छन् । नयाँ मन्त्रिमण्डलमा राजापाक्षे परिवारका चमाल राजापाक्षे पनि परेका छन् । चमाल मन्त्रिमण्डलमा परेसँगै श्रीलंकाकाे राज्यसत्तामा एकै परिवारका तीनजना महत्वपूर्ण पदमा पुगेका छन् । 

राजापाक्षे परिवारबाट राष्ट्रपति र प्रधानमन्त्री पदमा थिए । अब एक मन्त्री पनि थपिएका हुन् । 

नयाँ मन्त्रीमण्डलले सन् २०२० को मार्चमा हुने निर्वाचनसम्म काम गर्ने गरी जिम्मेवारी तोकिएको छ । सरकारमा भूतपूर्व राष्ट्रपतिसमेत रहेका आफ्नै दाजु महिन्दा राजापाक्षले प्रधानमन्त्रीका रूपमा बिहीबार पद तथा गोपनियताको सपथ लिएका थिए । राष्ट्रपतिका अर्का भाइ चमाल राजापाक्षलाई कृषि, सिँचाई, आन्तरिक व्यापार तथा उपभोक्ता हित मन्त्री बनाइएको छ । 

प्रधानमन्त्री महिन्दा राजापाक्षले वित्त, आर्थिक मामिला, आवास, शहरी विकास, खानेपानी आपूर्ति र बुद्ध धर्मसम्बन्धि काम हेर्नेछन् । प्रधानमन्त्री राजापाक्षले सन् २००६ देखि २०१५ सम्म शक्तिशाली राष्ट्रपतिका रूपमा श्रीलङ्कालाई नेतृत्व गरेका थिए ।

निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पक्षका राष्ट्रपतिका उम्मेदवार सजित प्रेमादासाको पराजयसँगै पदबाट राजिनामा दिएपछि अन्तरिम सरकार गठन गरिएको हो ।

मन्त्रीमण्डलका अन्य सदस्यमा निमाल सिरिपाला, अरूमुगम थोन्दामन, डग्लास देभानन्द, पवित्रादेवी वान्नीआराच्ची, बन्दुला गुणवार्दने, जानका बन्दारा तेन्नाकुन, डल्लास अलाहाप्पेरूमा, विमल विरावान्सा, महिन्दा अमराविरा, एस एम चन्द्रसेना, रमेश पाथिराना र प्रसन्न रणतुङ्गा छन् । 

- (रासस/एएनआई)

प्रतिकृया दिनुहोस