• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रचण्डको ट्याक्टिस र उछलकूद

राजकुमार रेग्मी

राजकुमार रेग्मी

पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली समाजले कसरी चिन्ने ? बारम्बार समस्या आइरहन्छ । यिनी अनेक हर्कत गरिरहन्छन्, अनपेक्षित कर्म गरिरहन्छन् । त्यसैले यिनलाई चिन्ने र यिनको कदमको भेउ पाउने मामिलामा माथापच्ची गरिरहनुपर्ने हुन्छ । 

विगतमा प्रचण्ड ठूलाठूला छलाङग मार्थे । प्रचण्डको समग्र जीवन नै छलाङगमय देखिन्छ । विगतमा छलाङगको आकार र दूरी ठूलो हुने गथर््यो । समय क्रमसँगै छलाङगको दूरी र आकार घट्दै गएको छ र अब उछलकूदमा सीमित हुन पुगेको छ । छलाङगबाट उछलकूदमा आइपुग्नुलाई परिपक्वता पनि मान्न सकिन्छ । तर, उछलकूद गर्ने स्वभावका कारण उनमा अपरिपक्वता पनि प्रचुर देखिन्छ । भेनेजुयला विज्ञप्ति र ‘जनयुद्ध जगाउने, माओवादी ब्यूँताउने’ उनको अपरिपक्वताको पछिल्लो उदाहरण थियो ।

ठेट नेपाली भाषामा भन्नुपर्दा प्रचण्डको स्वभाव ‘बाख्राको पुच्छर खाएजस्तो’ छ । अर्थात्, चंचल छ । यिनीजति चंचल नेता थोरै मात्र छन् । केही न केही नगरी बस्न सक्दैनन् । अधैर्य छन् । यो स्वभावलाई सक्रियता पनि मान्न सकिन्छ । 

सक्रियताका लागि नयाँनयाँ फाँट खोज्नु प्रचण्डको विशेषता हो । अर्काे विशेषता भनेको ट्याक्टिस हो । उनका हरेक उछलकूदमा ‘ट्याक्टिस’ देखिन्छ । अपरिपक्व लागे पनि उनको पछिल्लो ‘भेनेजुयला ट्याक्टिस’ गज्जबै लाग्छ । सोची सम्झी, धेरै परसम्मको हेरेर प्रचण्डले ‘भनेजुयला ट्याक्टिस’ खेलेकोमा कुनै शंका छैन ।

भेनेजुयला ट्याक्टिसको अन्तर्य

प्रचण्डले खेलेको भेनेजुयला ट्याक्टिस उपर अनन्त बहस हुन सक्छ । 

पछिल्ला घटनाक्रमलाई बाहिरबाट मात्र हेर्दा केपी ओली सरकार अमेरिकी धूरीतिर लागेजस्तो देखिन्थ्यो । विगतमा शक्ति राष्ट्रहरुको नेपाली राजनीतिमा हस्तक्षेप कति चर्काे थियो भने सहभागिताको स्तरमा थियो । नेपालका मुख्यमुख्य राजनीतिक दलहरुकै जस्तो हैसियत र भूमिकामा शक्ति राष्ट्रहरु देखिन खोज्थे । तर, ओलीले विदेशी हस्तक्षेपलाई गन्न र टेर्न छाडेका थिए । 

अमेरिकी आडभरोसामा ओलीले विदेशीलाई नटेरेका हुन् की ? प्रचण्डलाई पनि त्यस्तो लाग्न थालेको हुनसक्छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई अमेरिकाले बोलाउनु, एसिया प्यासिफिक कमाण्डमा नेपालको भूमिका बारे अमेरिकी मन्तव्य आउनु... आदिइत्यादी कारणले ‘ओली सरकार अमेरिकी धूरीमा गइसक्यो’ भन्नेहरुको कमी थिएन । 

यो अवस्थालाई काउन्टर दिने गरी प्रचण्डको ‘भेनेजुयला ट्याक्टिस’ अगाडि आएको तथ्यमा ध्यान दिनुपर्ने हुन्छ । यहाँनेर ध्यान दिनैपर्ने पक्ष हो–

अमेरिकाले एसिया प्यासिफिक कमाण्डमा घिसार्दै लैजान खोज्दा नेपालले नमान्नु स्वाभाविक हो । यो अमेरिकी रणनीतिबाट भारत र चीन खुसी भए होलान् त ? यो अमेरिकी नीतिसँग चीन असन्तुष्ट हुने नै भयो, भारत पनि असन्तुष्ट हुन्छ । किनभने, नेपाललाई भारतले आफ्नो सामरिक राडारभित्रको देश ठान्छ । नेपालसँग पश्चिमाहरुले आफू मार्फत् व्यवहार गरोस् भन्ने भारतको चाहना हुने गरेको छ । यसो नगरेर अमेरिकाले नेपालसँग सीधै रणनीतिक साझेदारी गर्न खोज्यो । 

परराष्ट्रमन्त्री ज्ञवालीलाई आमन्त्रण गरेर अमेरिकाले नेपालसँग ‘डाइरेक्ट डील’ गर्न खोज्यो, त्यो पनि सामरिक विषयमा । भारतको परम्परागत नीति हेर्दा उसका लागि यो मान्य काम होइन । हेक्का रहोस्, नेपालबाट अनमिनलाई विदा गर्न भारत र चीन एक ठाउँ उभिएका थिए । 

भेनेजुयला प्रकरणमा चीन अमेरिकाको विपक्षमा छ भने भारत तटस्थ छ । भारत पूर्ण रुपमा अमेरिकी धूरीमा गइसकेको छैन । अहिलेको भारतीय नीतिसँग अमेरिका सन्तुष्ट देखिँदैन । तटस्थतालाई आफ्नो विरुद्धमा ठान्छ अहिलेको अमेरिकी नेतृत्वले ।

प्रचण्डको ‘भेनेजुयला ट्याक्टिस’लाई यो पृष्ठभूमिमा पनि हेरिनुपर्छ ।

तर, तथ्य अर्कै

प्रचण्डको भेनेजुयला ट्याक्टिसका कारण केही महत्वपूर्ण तथ्य उजागर भएको छ । 

मुख्य कुरा, कतिपयले विश्लेषण गरेजस्तो ओली सरकार अमेरिकी धूरीमा गएको होइन रहेछ । अमेरिकाले नेपाललाई आफ्नो खेमामा तान्ने प्रयास गर्नु स्वाभाविक हो । कुनै धूरीमा लाग्ने कि नलाग्ने भन्ने निर्णय चाहिँ नेपालले नै लिनुपर्छ । भेनेजुयला प्रकरणले के सिद्ध गर्यो भने नेपालले अमेरिकी धूरीमा लाग्ने वाचा गरेको रहेनछ । यदि त्यसो गरेको थियो भने अमेरिका यसरी असन्तुष्ट देखिँदैनथ्यो ।

भारत र चीनबीच सन्तुलित सम्वन्ध राख्ने कठिन र जटिल काममा ओली र उनका परराष्ट्र मन्त्री ज्ञवालीले चतुर भूमिका निर्वाह गरेको सबैले देखिरहेकै हो । त्यस बीचमा अमेरिकाले नेपाललाई आफ्नो खेमामा खुलेआम आमन्त्रण गर्यो । यो आमन्त्रणमा नेपाल पसिसक्यो, फसिसक्यो भन्नेहरु पनि थिए । तर, प्रचण्डको भेनेजुयला ट्याक्टिसपछि उत्पन्न परिस्थितिमा ओली सरकारले एउटा मौका पायो । त्यो मौका हो हामी कतै पनि लागेका छैनौं भनेर देखाउने अवसर । 

पक्का हो– ओली सरकारको अर्थात् नेपालको तटस्थ नीति अमेरिकालाई चित्त बुझेन तर भेनेजुयला प्रकरणमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नेपालको परम्परागत नीतिभन्दा दायाँवायाँ छैन । ओली सरकारको एक वर्षको परराष्ट्र रणनीति नियाल्ने हो भने भेनेजुयला मामिलामा नेपाल बोल्दै बोल्दैनथ्यो, चुप लागेर बस्थ्यो । तर, प्रचण्डको विज्ञप्तिपछि बोल्नुपर्ने परिवन्दमा फस्यो । 

नेपालको तटस्थ परराष्ट्र नीति भंग हुनुपर्छ र आफ्नो पक्षमा उभिनुपर्छ भनेर अमेरिकाले खुलेआम दवाब दिइसकेको छ । त्यसैले नेपालले तटस्थताको नीति कायमै राख्छु भन्दा अमेरिकालाई चित्त बुझ्ने कुरै भएन । त्यसैले कूटनीतिक व्रिफिङमा राजदूत अनुपस्थित भए, अमेरिकामा नेपाली राजदूतलाई सोधपूछ गरियो । हेक्का रहोस्, नेपालको तटस्थ नीति भंग होस् भन्ने पक्षमा भारत पनि रहँदै आएको छ ।

यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने अमेरिकी असन्तुष्टिको चुरो प्रचण्डको विज्ञप्ति होइन, नेपालले अपनाउँदै आएको तटस्थ परराष्ट्र नीति हो । यो नीतिमा कायम रहँदा अमेरिका या अन्य कुनै देश केही समयका लागि रिसाउला तर मुलुकको दीर्घकालीन हित तटस्थतामै छ भन्ने सबैले बुझ्न जरुरी छ । नेपालजस्तो देशले सबैलाई सधैंका लागि मित्र बनाउने भनेको अहिले अपनाइरहेको तटस्थताको नीतिले नै हो ।

जनयुद्धदेखि मनयुद्धसम्म

अन्तराष्ट्रिय अन्तरविरोधमा खेल्न सर्वाधिक खप्पीस नेता कोही छन् भने प्रचण्ड नै हुन् । केपी ओली सुनियोजित रणनीति बनाएर चल्ने खालका देखिँदैनन् । ओली कूटनीतिमा पनि राजनीति गर्छन्, प्रचण्ड चाहिँ राजनीतिमा पनि कूटनीति खेल्छन् । ओली निर्णय गरिसकेपछि त्यसको प्रभाव–दुष्प्रभावको सामना गर्छन् । प्रचण्ड चाहिँ भविष्यमा गर्नुपर्ने निर्णयका लागि पहिले नै पृष्ठभूमि तयार गर्छन् । ओली परिणामको आकलन गर्दैनन् तर प्रचण्ड ‘क्याल्कुलेटिभ’ छन् । अहिलेका सर्वाधिक निर्णायक यी दुई नेताको यो विशेषता विचारणीय छ । 

प्रचण्ड एकातिर ताकेर अर्कातिर निसाना लगाउँछन् । जे बोल्छन् त्यसको कारण र अर्थ पहिल्याउँदै भित्रसम्म पस्नुपर्ने हुन्छ, उनको भनाईको अर्थ खुल्न केही दिन लाग्न सक्छ । 

प्रचण्डको शैली उनको पछिल्लो चर्चित अभिव्यक्तीले पनि झल्काउँछ । उनले ‘जनयुद्ध जगाउने, माओवादी ब्यूँताउने’ खालको भाषण गरेका छन् । यस्तो धम्कीले मुलुक तरंगित र आतंकित छ । तर, विचारेर हेर्दा यो उनको ट्याक्टिस मात्र हो । 

फागुन एकमा जनयुद्ध दिवस मनाउनुपर्ने छ, नेकपा पार्टीको तर्फबाट जनयुद्ध दिवस मनाउने मनसुवाले उनले धम्की दिएका हुन् । अब उनले न जनयुद्ध जगाउँछन् न पूरानो माओवादी नै जगाउँछन्, जनयुद्ध दिवस मनाउनु चाहिँ बेग्लै कुरा हो । मौजुदा परिस्थितिमा उनले पार्टी फुटाउन सम्भव छैन, पार्टी फुटाउने रणनीतिक उद्देश्य पनि देखिँदैन । तैपनि धम्की दिनुको अर्थ अरुलाई दवाबमा पार्नु र आफ्ना कुरा मनाउनु हो । नेकपाभित्र पूर्व माओवादीहरु आफ्नो नियन्त्रणमा रहिरहुन् भन्ने मनसुवा पनि उनको हुनसक्छ । संक्रमणकालीन न्यायको विषय किनारा नलागेसम्म विगत माओवादीको विरासत अलिअलि बोक्नुपर्ने वाध्यतामा पनि छन् । यही कारण उनले ‘जनयुद्ध जगाउने, माओवादी ब्यूँताउने’ खालको धम्की दिए ।

अर्थात्, प्रचण्डको मुखबाट उच्चारण हुने जनयुद्ध शब्दलाई मनयुद्धको अर्थमा बुझे हुन्छ । अब प्रचण्डको मुखबाट निस्कने जनयुद्ध शब्दको तौल ‘मनयुद्ध’भन्दा धेरै छैन ।

सर्वत्र उछलकूद

नेपाली जनतालाई अस्थिरताको अम्मली बनाइएको छ । स्थिरताभित्र पनि अस्थिरता खोजेर रमाउने जमात सिर्जना गरिएको छ । नेपाली नेताहरु पनि अस्थिरतामै आफ्नो हित देख्छन् । त्यसैले राजनीतिमा सर्वत्र उछलकूद देखिन्छ । अस्थिरताको खोजीमा तिललाई पहाड बनाइन्छ र त्यो पहाडबाट अरुलाई खसाइन्छ ।

ओली सरकारलाई धक्का दिनसक्ने सबैभन्दा निर्णायक नेता प्रचण्ड नै हुन्, त्यसैले उनले खोक्दा पनि भुकेको स्तरमा आवाज गुञ्जन्छ । उनको सामान्यभन्दा सामान्य हर्कतमा पनि गहिरो अर्थ खोजिनु स्वाभाविक हो । प्रचण्डले ओली सरकार गिराइदिउन् भनी प्रार्थना गर्ने स्वदेशीविदेशी यथेष्ट छन् भन्ने पनि हेक्का राख्नुपर्ने हुन्छ ।

सत्य के हो भने प्रचण्डले चाहे भने नेपाली राजनीतिलाई अस्थिरतामा लैजान सक्छन् । ओली सरकारलाई अरुले तगारो लगाउनुपर्दा सडकमा आउनुपर्ने हुन्छ तर प्रचण्डले कोठाभित्रबाटै तगारो लगाइदिन सक्छन् । लोकतन्त्रमा सरकारसँग शतप्रतिशत सन्तुष्ट कोही हुन सक्दैन, प्रचण्ड असन्तुष्ट छन् भन्ने छर्लङगै देखिन्छ ।

प्रचण्डले आफ्नो उछलकूद नियन्त्रण गरे भने मुलुकको राजनीतिक स्वास्थ्यमा अझ सुधार हुनेछ, उनकै पनि हित हुनेछ ।

प्रतिकृया दिनुहोस