• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विद्युत्का २७१ सेवाग्राही कालोसूचीमा

समाचार

समाचार

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो ।

उनीहरुबाट ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ ।

कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उहाँले जानकारी दिनुभयो । कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र  तिनबाट वार्षिक १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक एक अर्ब ९४  करोड ८१ लाख ८३ हजार महसुल उठेकोे छ ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार सात सय ४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरुमध्ये एक हजार पाँच सय ४५ सेवाग्राहीको लाइन पुनः जडान गरिएको र  सय एक  सेवाग्राही सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो ।

लाइन काटिएका सेवाग्राहीबाट चार करोड ४३ लाख ६० हजार रुपैयाँ महसुल असूली गरिएको कार्यालयले जनाएको छ ।

–रासस
 

प्रतिकृया दिनुहोस