• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

‘गल्ती भइहाल्यो, माफ दिनुपर्यो’ शैलीमा कांग्रेस विज्ञप्ति

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सरकारी मोटर जलाउनेलाई कुनै कारवाही नगरी तथा क्षतिपूर्ति समेत नभराई रिहा गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस केन्द्रिय समितिको आज बसेको वैठकले त्यस्तो माग गरेको हो । 

वैठकपछि पार्टी केन्द्रिय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा नेवि संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई रिहा गर्न माग गरिएको छ । उनीहरुले गत शनिवार पोखरामा सडकमा कुदिरहेको सरकारी मोटर जलाएका थिए । 

उनीहरुलाई रिहा गर्न माग गर्दै नेवि संघले मंगलबार राजधानीमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेको थियो । नेवि संघले पक्राउ परेका तीनजनालाई झुठा मुद्दा लगाइएको दावी गरेको छ । 

तर, कांग्रेसको विज्ञप्ति भने फरक आएको छ । विज्ञप्तिमा आफ्ना ती कार्यकर्ताले गल्ती गरेको घुमाउरो पाराले स्वीकार गर्दै विगतमा आन्दोलनमा सबैले यस्तो खालका काम गर्ने गरेको आशय व्यक्त गरिएको छ । विज्ञप्तिमा लेखिएको छ— ‘सरकारका जनविरोधी कदमहरुका विरुद्ध गरिने कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढंगले गरिनु पर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ । तर शान्तिपूर्ण प्रदर्शनका क्रममा कतिपय दुःखद घटना पनि हामी कहाँ वर्षौ देखि हँुदै आएका छन् ।’ 

वर्षाैंदेखि हुँदै आएका घटना नै अहिले पनि भएको भन्दै कारवाही नगरी रिहा गर्न कांग्रेसले माग गरेको विज्ञप्तिबाटै प्रष्ट हुन्छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ— ‘तर तिनै निश्चित कुनै घटनालाई आधार मानेर नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई हालै पोखरामा फौजदारी मुद्दा लगाउने विषयलाई हामीले गम्भीर रुपले लिएका छौं । अतः गिरफ्तार विद्यार्थीहरुलाई तत्काल रिहाई गर्न यो बैठक सरकार समक्ष माग गर्दछ ।’ 

आफ्ना कार्यकर्ताहरुले नयाँ काम नगरेको, विगतमा आन्दोलनमा गरिँदै आएको काम नै गरेको, त्यसैले कारवाही हुनु हुँदैन भन्ने कांग्रेसको धारणा देखिन्छ । 

कांग्रेस वैठकले माघ २१ को प्रदर्शन पछि धनुषाको सवैलामा आफ्ना कार्यकर्ता उमेश कापडीलाई नेकपाका कार्यकर्ताले हमला गरेको भन्दै दोषीलाई कारवाही गर्न पनि माग गरेको छ । 

कांग्रेसले ‘गल्ती भइहाल्यो, माफ दिनुपर्यो’ शैलीमा दिएको विज्ञप्ति उपर ओली सरकारबाट कुनै प्रतिक्रिया आएको छैन । मोटर जलाउनेहरुलाई प्रहरीले फौजदारी मुद्दा लगाएको छ । कांग्रेसले माफी शैलीमा विज्ञप्ति जारी गरेसँगै कांग्रेस र नेकपा सरकारको मिलेमतोमा अभियुक्तहरुलाई जोगाइने सम्भावना बढेको छ । 
 

याे पनि पढाै‌-

सरकार र कांग्रेसको मिलेमतो : सरकारी मोटर जलाउनेको छैन अत्तोपत्तो

आगजनी र तोडफोडका मुद्दा चिनाै‌, जागौं र खबरदारी गरौं

प्रतिकृया दिनुहोस