• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ओएमआर प्रविधिबाट लिखित नतिजा प्रकाशन

समाचार

समाचार

कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोगका सचिव भूपेन्द्र थापाले पहिलोपटक ओएमआर प्रविधिबाट आयोगले यही जेठ १८ गते बुधबार लिखित नतिजा प्रकाशन गरेको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार  आयोगले गत वैशाख १० गते विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको प्रथम चरणको परीक्षा लिएको थियो ।

'ओएमआर प्रविधिले परीक्षाको नतिजा प्रकाशनमा शुद्धता, शीघ्रता र विश्वसनीयता प्रदान गरेको छ', उहाँले भन्नुभयो, 'अब यही प्रविधिको सहायताले यसको लगत्तै सहायक पाँचौँ तहको परीक्षाको नतिजा प्रकाशन गर्दैछौँ ।' सो प्रविधिबाट नतिजा प्रकाशन गर्न आयोगले यही जेठ १७ गते केन्द्रबाट विज्ञ बोलाएर प्रविधिजन्य सीपको सहयोग लिएको थियो ।

उक्त परीक्षामा एक हजार ४ सय ५५ परीक्षार्थी सम्मिलित भएको आयोगका प्रवक्ता एवं उपसचिव बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो । 'सम्मिलित परीक्षार्थीमा ३ सय १४ परीक्षार्थी प्रथम चरणको परीक्षामा उत्तीर्ण भएर द्वितीय चरणमा प्रवेश गरेका छन्', उहाँले भन्नुभयो, 'उत्तीर्ण सबै परीक्षार्थीले साविककै प्रवेशपत्रको आधारमा परीक्षा केन्द्रमा सहभागी हुनुपर्नेछ ।'

प्रथम चरणमा उत्तीर्ण परीक्षार्थीको द्वितीय चरणको परीक्षाका लागि आगामी असार ११ गते बिहान ८ः०० बजेको समय तोकिएको उहाँले जनाउनुभयो । महिला विकास निरीक्षक पदको परीक्षामा सहभागी भएर उत्तर पुस्तिकामा (की) उल्लेख नगरको १५ परीक्षार्थीको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

–रासस
 

प्रतिकृया दिनुहोस