कांग्रेसले ओली सरकारलाई नराम्रोसँग छक्यायो
काठमाडौं । संसदमा नेपाली कांग्रेसले केपी ओली सरकारलाई जिल्ल पारिदिएको छ । माग पूरा गरिदिएपछि कांग्रेसले संसद वैठक अवरोध खोल्छ भन्ने सरकारलाई लागेको थियो । तर, कांग्रेसले संसद अवरोध खोलेन, चलाखीपूर्ण तरिकाले अवरोध जारी राखिदियो ।
बिहिबार संसद वैठकमा कांग्रेसले अवरोध जारी राख्यो । त्यस अघिका वैठकहरुमा कांग्रेसले अवरोध गर्दा आफ्ना दुई नेताको नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्छ भन्ने माग गरेको थियो । सरकारले माग पूरा गर्यो । माग पूरा गर्दा सरकारले अवरोध खुल्छ भन्ने ठानेको थियो । संसद भवनमा एक मन्त्रीले सनराइज खबरसँग भने– ‘हामीलाई कांग्रेसले जिल्ल पारिदियो, उहाँहरुले बेइमानी गर्नुभयो ।’
अवरोधमा कांग्रेसले के चलाखी गर्यो भने विगतकै अवरोध र मागलाई निरन्तरता दिएको देखाउन खोज्यो । उसले सबै माग पूरा नभएको भनेजस्तो पार्न खोजेको छ ।
बिहिबार प्रतिनिधिसभा वैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनबारे बोले तर यही विषयमा अवरोध गर्छाैं भनेनन् । उनले के देखाउन खोजे भने विगतदेखि गरिएको अवरोध दुई अस्पतालको विषयमा मात्र थिएन, चिकित्सा विधेयक र केसीको अनसनको विषयमा पनि गरिएको हो ।
तर, कांग्रेसले चिकित्सा विधेयक र केसीको अनसनको विषयमा अवरोध गरेको थालेको थिएन । कांग्रेसले किटानीसाथ दुई अस्पतालको विषयमा माग राख्दै अवरोध थालेको थियो । माग पूरा भइसकेपछि ‘सबै माग पूरा भएन, दुई अस्पतालको माग मात्र पूरा भयो’ भनेजस्तो देखाउने वठ्याईं कांग्रेसले गरेको छ ।
बिहिबार प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘तपाईंहरुको माग पूरा भइसकेको छ, तैपनि किन अवरोध गर्नुभएको’ भन्दै प्रश्न गरेका थिए । तर, कांग्रेस सांसदहरुले जवाफ नै दिएनन् ।
भद्र सभामा भद्र शैली
भद्र र परिपक्व सभा मानिने माथिल्लो सदन अर्थात् राष्ट्रिय सभाको आजको वैठकमा कांग्रेसको अवरोध भद्र शैलीको थियो । राष्ट्रिय सभामा कांग्रेसले नयाँ शैलीले विरोध जनायो । विगत वैठकमा जस्तै कांग्रेस सांसदहरुले आआफ्नो ठाउँमा उभिएर अवरोधको संकेत गरेका थिए तर अध्यक्षले वैठक अगाडि बढाए ।
आजको वैठकमा कांग्रेस सांसदहरुले वेल घेराउ गरेनन्, नारावाजी पनि गरेनन् । शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई विधेयक प्रस्तुत गर्न रोष्ट्रमसम्म पुग्न पनि अवरोध गरेनन् ।
विधेयक पारित गर्न कुनै अवरोध नगर्ने तर संसद अवरोध पनि जारी राख्ने कांग्रेसको रणनीति देखियो ।
राष्ट्रियसभामा कांग्रेस सांसदहरुले चिकित्सा शिक्षा विधेयक उपर संशोधन प्रस्ताव हालेका थिए तर प्रस्ताव उपर भएको छलफलमा भने भाग लिएनन् । विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएको हुनाले पनि कांग्रेसले अवरोध खोल्ने अपेक्षा गरिएको थियो ।
यद्यपि, संसदमा अवरोध गर्ने पार्टीले विधेयकहरुमा संशोधन प्रस्ताव दर्ता गर्ने परम्परा छ । तर, अवरोधको बेला विधेयक प्रस्तुत भएको अवस्थामा भने विधेयक उपरको छलफल र मतदानमा भने अवरोधकर्ता पार्टी सहभागी नहुने परम्परा छ ।
अब प्रतिनिधिसभा र राष्ट्रिय सभाको वैठक माघ २० मा हुनेछ । एक कांग्रेस सांसदले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार केसीको अनसन अन्त्य भए पनि संसद अवरोध जारी रहनेछ । उनका अनुसार फागुन १४ मा गर्न प्रयास गरिएको त्रिविको स्ववियू चुनाव स्थगित नभएसम्म कांग्रेसले कुनै न कुनै रुपमा संसद अवरोध जारी राख्नेछ ।


प्रतिकृया दिनुहोस