• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

यही हो नेपालको स्वर्णकाल

सनराइज खबर

सनराइज खबर

चिनियाँ राष्ट्रपति नेपाल आउँदा जति ठूलो तरंग आउँदै छ, त्योभन्दा ठूलो तरंग उनी फर्किएपछि अवश्य आउनेछ । किनभने दूरगामी दृष्टि लिएरै, सुदूर भविष्यमा दृष्टि लगाएरै चिनियाँ राष्ट्रपति नेपाल आउन लागेका हुन् भन्नेमा कुनै शंका छैन । 

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको वैदेशिक नीतिको ठूलो सफलता हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौं टेकेपछि नेपालको परराष्ट्र नीति नयाँ युगमा प्रवेश गर्नेछ । किनभने नेपालले केही वर्षदेखि अपनाउँदै आएको परराष्ट्र नीतिले सीको भ्रमणसँगै एउटा चक्र पूरा गर्नेछ, नेपालको परराष्ट्र नीति सही ट्रयाकमा गइरहेको छ भन्ने औपचारिक पुष्टि हुनेछ ।

चिनियाँ राष्ट्रपतिले दुई दशकभन्दा लामो समय किन नेपाल भ्रमण गरेनन् ? यसमा चीन या नेपालको मात्र कारण पक्कै थिएन होला, दक्षिण एसियाको भूराजनीति तथा विश्व राजनीतिले पनि पक्कै काम गरेको थियो होला । चिनियाँ राष्ट्रपति नेपाल आउनुको अर्थ चीन र नेपाल दुवैले परम्परागत भूराजनीतिक वाधा तोड्नु पनि हो । नेपालको भूराजनीतिक अवस्थितिलाई विगतमा जटिल ठानियो, जटिल भन्दै व्याख्या गरियो । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेपछि आफ्नो भूराजनीतिक अवस्थालाई बुझ्ने बुझाउने विषयलाई नेपालले सरलीकरण गर्न थाल्यो । त्यसै अनुसारको नीति अवलम्बन गर्‍याे । त्यसैको परिणाम हो चिनियाँ राष्ट्रपतिको भ्रमण ।

ठाडै र प्रष्टै लेख्नपर्छ– चीन र भारतबीच भएकाले नेपालले सन्तुलन गुमाउन हुँदैन भन्ने धारणा सधैं राख्ने गरियो तर सन्तुलन मिलाउने नाममा नेपालले यथास्थितिको एकांकी अवस्थामै टिक्ने नीति लिँदै आयो । उता चीन र भारतबीच भने प्रतिस्पर्धा, द्धन्द र सहकार्य समान रुपमा अगाडि बढ्दै गयो । छिमेकी चीन र भारतबीच अविश्वाशका अध्यायहरु मात्र छैनन्, गहिरो विश्वाश र सहकार्यका अनेक पक्षहरु पनि छन्, दुनियाँ अविश्वाशले होइन विश्वाशले चल्छ भन्ने तथ्यतिर ध्यान नदिई नेपालले डरछेरुवा परराष्ट्र नीति अवलम्बन गरिरह्यो । 

‘यसो गरे चीन रिसाउँछ, उसो गरे भारत रिसाउँछ’ भन्ने पुरातन मानसिकता बोक्नाले नेपाल अगाडि बढ्न सकेन, चीन र भारतसँग युग अनुकूलको सम्बन्ध र सहकार्य अगाडि बढाउन सकेन । पछिल्लो कालखण्डमा नेपालले चीन र भारत दुवैलाई विश्वाशमा लिने, नयाँ ढंगले सम्बन्ध विकास गर्ने नीति लियो । नेपालले स्वतन्त्र देशको हैसियतले कुनै निर्णय गर्दा कुनै पनि देश रिसाउँदैन र रिसाउन हुँदैन भन्ने आत्मविश्वाशका साथ निर्णय लिन थाल्यो । नेपालको परराष्ट्र नीतिमा शंका, द्धन्द, अविश्वाश र नकारात्मक भावना जस्ता अवयव छैनन् भन्ने विश्वाश नेपालले विश्व समुदायलाई दिइरहेको छ, छिमेकीहरुलाई दिइरहेको छ, त्यसैको परिणाम हो चिनियाँ राष्ट्रपतिको भ्रमण ।

भारत र चीनबीच बहुआयामिक सम्बन्ध छ । त्यो सम्बन्धका आयाम र जटिलतातर्फ नेपालले प्रवेश गर्न आवश्यक छैन, बरु, ती दुई देशबीचको आपसी सहकार्य र विश्वाशका अध्यायहरुलाई नेपालले उपयोग गर्नुपर्छ भन्ने नेपालको पछिल्लो कालखण्डको नीति देखिन्छ । यो नीतिका कारण चीन र भारत दुवैको विश्वाश आर्जन गर्न नेपाल सफल हुँदै गएको छ । त्यसैकारण भारतको भ्रमण गरेर त्यही भूमिबाट चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा अवतरण गर्दैछन् । जसबाट भविष्यमा त्रिदेशीय सहकार्य सम्भव छ भन्ने मिहिन सन्देश समेत प्रवाह भएको छ । भारत र चीन दुवैलाई विश्वाशमा लिएर चल्ने र आफ्नो राष्ट्रिय हित हेर्ने नीतिको परिणाम हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ।

चिनियाँ राष्ट्रपतिको भ्रमण क्रममा नेपालले केके सहायता पाउँछ भन्ने गौण विषय हो । मित्र देशहरुबाट पाइने सहायता माछा हो, हाम्रो परराष्ट्र नीति बल्छी हो । हाम्रो नीति सही छ भने जति पनि विदेशी सहयोग र सद्भाव पाइन्छ । चीनसँग मित्रताको नयाँ अध्याय सुरु गर्नु नै ठूलो कुरा हो । मित्रताको नयाँ अध्याय सुरु भएपछि सहकार्यका अनेक फाँट खुल्नेछ । त्यसैले भ्रमणको क्रममा केकस्ता सहमति हुन्छन् त्यसका आधारमा चिनियाँ राष्ट्रपतिको भ्रमणको मूल्यांकन गर्नु बुद्धिमानी हुँदैन । नेपालले पछिल्लो कालमा अपनाउन थालेको परराष्ट्र नीति अनुसार छिमेकीहरुलाई व्यवहार गर्नु र छिमेकीहरुले पनि नेपालको त्यस्तो नीतिलाई स्वीकार्नु नै नेपालको ठूलो उपलब्धी हो । 

यस अर्थमा नेपालको वैदेशिक सम्बन्धमा, नेपालको परराष्ट्र नीतिमा स्वर्णकाल सुरु भएको छ । नेपालले पञ्चशीलमा आधारित परराष्ट्र नीतिलाई यथावत राख्दै सम्बन्ध र व्यवहारहरुलाई भने नयाँ ढंगले परिभाषित गर्ने जुन रणनीति लिएको छ, त्यो सफल हुँदै गएको छ । अर्काे अर्थमा भन्ने हो भने नेपालको परराष्ट्र नीति नयाँ युगमा प्रवेश गर्दैछ । नयाँ युगलाई स्वागत गरौं, चीनका राष्ट्रपति सी चिनफिङलाई स्वागत गरौं । 
 

प्रतिकृया दिनुहोस