English

सम्पादकीय

यही हो नेपालको स्वर्णकाल

सम्पादकीय
sunrisekhabar

चिनियाँ राष्ट्रपति नेपाल आउँदा जति ठूलो तरंग आउँदै छ, त्योभन्दा ठूलो तरंग उनी फर्किएपछि अवश्य आउनेछ । किनभने दूरगामी दृष्टि लिएरै, सुदूर भविष्यमा दृष्टि लगाएरै चिनियाँ राष्ट्रपति नेपाल आउन लागेका हुन् भन्नेमा कुनै शंका छैन । 

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको वैदेशिक नीतिको ठूलो सफलता हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौं टेकेपछि नेपालको परराष्ट्र नीति नयाँ युगमा प्रवेश गर्नेछ । किनभने नेपालले केही वर्षदेखि अपनाउँदै आएको परराष्ट्र नीतिले सीको भ्रमणसँगै एउटा चक्र पूरा गर्नेछ, नेपालको परराष्ट्र नीति सही ट्रयाकमा गइरहेको छ भन्ने औपचारिक पुष्टि हुनेछ ।

चिनियाँ राष्ट्रपतिले दुई दशकभन्दा लामो समय किन नेपाल भ्रमण गरेनन् ? यसमा चीन या नेपालको मात्र कारण पक्कै थिएन होला, दक्षिण एसियाको भूराजनीति तथा विश्व राजनीतिले पनि पक्कै काम गरेको थियो होला । चिनियाँ राष्ट्रपति नेपाल आउनुको अर्थ चीन र नेपाल दुवैले परम्परागत भूराजनीतिक वाधा तोड्नु पनि हो । नेपालको भूराजनीतिक अवस्थितिलाई विगतमा जटिल ठानियो, जटिल भन्दै व्याख्या गरियो । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेपछि आफ्नो भूराजनीतिक अवस्थालाई बुझ्ने बुझाउने विषयलाई नेपालले सरलीकरण गर्न थाल्यो । त्यसै अनुसारको नीति अवलम्बन गर्‍याे । त्यसैको परिणाम हो चिनियाँ राष्ट्रपतिको भ्रमण ।

ठाडै र प्रष्टै लेख्नपर्छ– चीन र भारतबीच भएकाले नेपालले सन्तुलन गुमाउन हुँदैन भन्ने धारणा सधैं राख्ने गरियो तर सन्तुलन मिलाउने नाममा नेपालले यथास्थितिको एकांकी अवस्थामै टिक्ने नीति लिँदै आयो । उता चीन र भारतबीच भने प्रतिस्पर्धा, द्धन्द र सहकार्य समान रुपमा अगाडि बढ्दै गयो । छिमेकी चीन र भारतबीच अविश्वाशका अध्यायहरु मात्र छैनन्, गहिरो विश्वाश र सहकार्यका अनेक पक्षहरु पनि छन्, दुनियाँ अविश्वाशले होइन विश्वाशले चल्छ भन्ने तथ्यतिर ध्यान नदिई नेपालले डरछेरुवा परराष्ट्र नीति अवलम्बन गरिरह्यो । 

‘यसो गरे चीन रिसाउँछ, उसो गरे भारत रिसाउँछ’ भन्ने पुरातन मानसिकता बोक्नाले नेपाल अगाडि बढ्न सकेन, चीन र भारतसँग युग अनुकूलको सम्बन्ध र सहकार्य अगाडि बढाउन सकेन । पछिल्लो कालखण्डमा नेपालले चीन र भारत दुवैलाई विश्वाशमा लिने, नयाँ ढंगले सम्बन्ध विकास गर्ने नीति लियो । नेपालले स्वतन्त्र देशको हैसियतले कुनै निर्णय गर्दा कुनै पनि देश रिसाउँदैन र रिसाउन हुँदैन भन्ने आत्मविश्वाशका साथ निर्णय लिन थाल्यो । नेपालको परराष्ट्र नीतिमा शंका, द्धन्द, अविश्वाश र नकारात्मक भावना जस्ता अवयव छैनन् भन्ने विश्वाश नेपालले विश्व समुदायलाई दिइरहेको छ, छिमेकीहरुलाई दिइरहेको छ, त्यसैको परिणाम हो चिनियाँ राष्ट्रपतिको भ्रमण ।

भारत र चीनबीच बहुआयामिक सम्बन्ध छ । त्यो सम्बन्धका आयाम र जटिलतातर्फ नेपालले प्रवेश गर्न आवश्यक छैन, बरु, ती दुई देशबीचको आपसी सहकार्य र विश्वाशका अध्यायहरुलाई नेपालले उपयोग गर्नुपर्छ भन्ने नेपालको पछिल्लो कालखण्डको नीति देखिन्छ । यो नीतिका कारण चीन र भारत दुवैको विश्वाश आर्जन गर्न नेपाल सफल हुँदै गएको छ । त्यसैकारण भारतको भ्रमण गरेर त्यही भूमिबाट चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा अवतरण गर्दैछन् । जसबाट भविष्यमा त्रिदेशीय सहकार्य सम्भव छ भन्ने मिहिन सन्देश समेत प्रवाह भएको छ । भारत र चीन दुवैलाई विश्वाशमा लिएर चल्ने र आफ्नो राष्ट्रिय हित हेर्ने नीतिको परिणाम हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ।

चिनियाँ राष्ट्रपतिको भ्रमण क्रममा नेपालले केके सहायता पाउँछ भन्ने गौण विषय हो । मित्र देशहरुबाट पाइने सहायता माछा हो, हाम्रो परराष्ट्र नीति बल्छी हो । हाम्रो नीति सही छ भने जति पनि विदेशी सहयोग र सद्भाव पाइन्छ । चीनसँग मित्रताको नयाँ अध्याय सुरु गर्नु नै ठूलो कुरा हो । मित्रताको नयाँ अध्याय सुरु भएपछि सहकार्यका अनेक फाँट खुल्नेछ । त्यसैले भ्रमणको क्रममा केकस्ता सहमति हुन्छन् त्यसका आधारमा चिनियाँ राष्ट्रपतिको भ्रमणको मूल्यांकन गर्नु बुद्धिमानी हुँदैन । नेपालले पछिल्लो कालमा अपनाउन थालेको परराष्ट्र नीति अनुसार छिमेकीहरुलाई व्यवहार गर्नु र छिमेकीहरुले पनि नेपालको त्यस्तो नीतिलाई स्वीकार्नु नै नेपालको ठूलो उपलब्धी हो । 

यस अर्थमा नेपालको वैदेशिक सम्बन्धमा, नेपालको परराष्ट्र नीतिमा स्वर्णकाल सुरु भएको छ । नेपालले पञ्चशीलमा आधारित परराष्ट्र नीतिलाई यथावत राख्दै सम्बन्ध र व्यवहारहरुलाई भने नयाँ ढंगले परिभाषित गर्ने जुन रणनीति लिएको छ, त्यो सफल हुँदै गएको छ । अर्काे अर्थमा भन्ने हो भने नेपालको परराष्ट्र नीति नयाँ युगमा प्रवेश गर्दैछ । नयाँ युगलाई स्वागत गरौं, चीनका राष्ट्रपति सी चिनफिङलाई स्वागत गरौं । 
 

प्राप्त प्रतिक्रिया
दिपक शाही लेख्नुहुन्छ २५ असोज, २०७६ ०९:०५ am

नेकपा ले हामी देश नाई परीवस्तन् गर्छौ भनेर भोट मागेर देश लाई डुबाए आफ्नै देश का नेता हरु ले घुस खान बाहेक अरु काम गर्न सकेनन् भने अर्को मुलुक को मान्छे ले आएर यो देश लाई बनाई दिन्छ भन्नु र सोच्नु दिनमै सपना देख्नु बराबर हो ।

तपाईँको मत