• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपालमा काेभिडबाट ज्यान गुमाउने झण्डै १२ हजार, धेरै ६०–६९ वर्षका

समाचार

समाचार

काठमाडाैं । विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ संक्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमणबाट ११ हजार नाै सय ३२ जनाको ज्यान गएको छ । 

कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिकको ज्यान गएको थियो । पछिल्लो समय फैलिएको ‘ओमिक्रोन’ भेरियन्ट बढी संक्रामक देखिए पनि कम घातक पाइएको चिकित्सकको भनाइ छ । 

पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोनाका कारण ज्यान गएको छ । नेपालमा कुल संक्रमितको १.२ प्रतिशतको ज्यान गएको मन्त्रालयको तथ्यांकले देखाएको छ । 

नेपालमा कोरोनाबाट सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेरसमूहका व्यक्तिले ज्यान गुमाएका छन् । सो उमेर समूहका दुई हजार पाँच सय एकले संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका दुई हजार तीन सय ७५, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार दुई सय ९३ र ४० देखि ४० वर्प उमेर समूहका एक हजार ६ सय ६३ जनाले ज्यान गुमाएका छन् । 

यस्तै ८० वर्षभन्दा माथि उमेरसमूहका एक हजार ६ सय ३७, ३० देखि ३९ वर्ष उमेर समूहका नाै सय ३६, २० देखि २९ वर्ष उमेर समूहका तीन सय ७९, नौ वर्ष मुनिका ५१ र उमेर नखुलेका १३ को कोरोना संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा आठ हजार ६ सय २८ नमूना परीक्षण गर्दा दुई सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । पाँच हजार चार सय ५२ नमूनाको पिसीआर परीक्षण गर्दा एक सय ५८ र तीन हजार एक सय ७६ नमूनाको एन्टिजेन परीक्षणमा एक सय १७ वटामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

आज पाँच सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म नौ लाख ५५ हजार चार सय ५८ जना कोरोनाभुक्त भएको मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमितको संख्या नौ हजार दुई सय ८० छ । शुक्रबार देशभरका खोपकेन्द्रमार्फत एक लाख २२ हजार चार सय ९३ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

हालसम्म १० लाख ५६ हजार सात सय ७२ ले कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । नेपालमा एक करोड ७३ लाख छ हजार ६ सय ४२ पूर्ण मात्रा, एक करोड ८४ लाख ५० हजार सात सय नाै पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । 

–रासस
 

प्रतिकृया दिनुहोस