• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

आजदेखि विद्यालय खुल्दै,अरु के-के खाेल्न पाइन्छ ?

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । एक महिनादेखि बन्द भएका शैक्षिक संस्था आजदेखि खुल्दैछन् ।

काेभिड-१९ संक्रमण तीब्र रुपमा फैलिएपछि बन्द भएका विद्यालय आजदेखि भाैतिक उपस्थितिमै पठनपाठन हुनेगरी खुल्न लागेका हुन् । यद्यपि आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा विद्यालय गएपनि १२ वर्ष मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनुपर्नेछ ।

यसबीचमा काेभिड-१९ विरुद्धकाे खाेप लगाउन ३ दिन विद्यालय खाेलिएकाे थियाे । शैक्षिक संस्थाहरूले भर्चुअल पठनपाठन भने जारी राखेका थिए । काठमाडाैं गाेकर्णेश्वर लगायत केही ठाउँमा भने स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि नै भाैतिक रुपमा विद्यालय खुलिसकेका छन् ।

१२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्ष मुनिका बालबालिकालाई खोप दिन अझै बाँकी छ । 

काेभिडको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका रात्रिकालीन व्यवसाय, खेलकुद, रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय आजदेखि सञ्चालन हुँदैछन् ।कोभिड-१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी आजदेखि राति १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सीसीएमसीले विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेको थियो । सिनेमा हल पनि आजैदेखि खुल्ला हुने छन् ।

संक्रमण जोखिम केही कम भएसँगै बन्द भएका विद्यालय र व्यापार व्यवसाय खुल्न लागेका हुन् । सबै व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा अपनाउनुपर्नेछ ।

फागुन १ देखि के खाेल्न पाइने के नपाइने भन्नेबारेमा उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीले यसअघि नै आदेश जारी गरिसकेका छन् । 

 

प्रतिकृया दिनुहोस