• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

रुकुममा १ हजार ४०० ले बुस्टर डोज लगाए

समाचार

समाचार

रुकुम । रुकुम (पूर्व) मा एक हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् । 

जिल्लामा यही माघ १० गतेदेखि बुस्टर डोज लगाउन सुरु गरिएको हो । रुकुम (पूर्व) का सूचना अधिकारी एवं कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीका अनुसार सिस्ने गाउँपालिकामा सबैभन्दा बढी एक हजार २४ जनले बुस्टर डोज लगाएका छन् । भूमे गाउँपालिकामा २०८ र पुथाउत्तरगङ्गा गाउँपालिकामा एक सय ६४ जनाले बुस्टर डोज लगाएका छन् । सिस्ने गाउँपालिकामा  स्वास्थ्य कार्यालय, भूमे र पुथाउत्तरगङ्गामा गाउँपालिकाको कार्यालयबाट खोप कार्यक्रम संचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 
पुथाउत्तरगङ्गा गाउँपालिकामा बुस्टर मात्र नभई कोभिडको पहिलो र दोस्रो मात्रा लगाउनेको संख्या पनि कम छ । खोपप्रति चासो नदेखाउँदा कार्यक्रम प्रभावित बन्न पुगेको गिरीले बताउनुभयो । गाउँपालिका र सम्बन्धित वडासँग समन्वय गरेर खबर गर्दा पनि नागरिक खोप लगाउनका लागि खोप केन्द्रसम्म पुग्न सकेका छैनन् । 
 
भूमे र सिस्ने गाउँपालिकामा भने खोप कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । कोभिड–१९ विरुद्धको खोपले मानिसलाई संक्रमण हुनबाट र संक्रमण भइहाले त्यसबाट हुने जोखिमबाट सुरक्षित गर्ने भन्दै छुटेकालाई सम्बन्धित गाउँपालिका तथा स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

– रासस

प्रतिकृया दिनुहोस