English

फिचर

फर्निचर व्यवसायले चम्किए हिराकाजी महर्जन

sunrisekhabar

काठमाडौं । सिर्फ तीन रुपैयाँमा सुरु भएको थियो हिराकाजी महर्जनको फर्निचर यात्रा । यसका लागि उनले नौ वर्ष फर्निचर कारखानामा समय बिताए । 

आजका सफल तथा ठूला फर्निचर व्यवसायी हिराकाजीले त्यसबेला तीन रुपैयाँ ज्याला पाउँथे । करिब २० वर्ष अघिको कुरा हो यो । 

अहिले काठमाडौंको नयाँ बानेश्वर, कालिमाटी, सातदोबाटो र नारायणगढमा उनको ठूलो शोरुम छ । नाम हो– बेष्ट इन्टेरियर । उनको काठमाडौंमा फर्निचरका तीनवटा शो रुम छ । ‘छिट्टै १० वटा शाखा बनाउने योजना छ’, हिराकाजी भन्छन् । 

नौ वर्ष तपस्या

‘मेरो संघर्षको कथा लामो छ । कुरा गर्दा आँशु नै आउँछ’– हिराकाजी भन्छन् ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको फर्निचर एक्सपोमा आफ्नो शानदार स्टलमा उभिएर उनले भने– ‘मलाई फर्निचर बनाउने कामले असाध्यै आकर्षित गर्यो । जतिसुकै कमाइ जति भएपनि फर्निचर बनाउने काम सिकेरै छाड्छु भन्ने अठोट थियो ।’

अठोट र संकल्पले जस्तै परिस्थिति पनि सामना गर्न सक्ने बनाउँछ । काम सिक्नकै लागि कारखानामा कामदारहरुको जुठो भाँडा पनि माझेको सम्झन्छन् ।

फर्निचर कारखानामा काम गरेको भरमा मात्र काम सिकिँदैन, रहर गरेको भरमा मात्र पनि काम सिकिँदैन । यसका लागि चाहिन्छ समर्पण । हिराकाजीले फर्निचर कारखानाका कालिगढहरुलाई गुरु माने । गुरुकै रुपमा श्रद्धा गरे, सम्मान दिए । त्यसैले सबैले उनलाई काम सिकाइदिए ।

हिराकाजी भन्छन्– ‘नौ वर्ष त मैले तपस्या नै गरेको हो । त्यही तपस्याको फलस्वरुप मैले आफ्नै फर्निचर खोल्न सकें ।’

फर्निचर कारखानामा पसिना बगाउने, मेहेनत गर्ने र अहोरात्र खटिने तपस्या नौ वर्ष गरेपछि उनलाई पसिनाले पनि तथास्तु भन्यो । त्यसको परिणाम भयो– हिराकाजीले आफ्नै फर्निचर कारखाना खोले । नाम राखे हिरा फर्निचर । आजको चर्चित बेष्ट इन्टिरियर त्यसबेला हिरा फर्निचर थियो । 

बेष्ट इन्टिरियरको पुर्खा हो हिरा फर्निचर । सुरुमा फर्निचर खोल्न सजिलो भएन । मुख्य अभाव रकमको थियो । कसैले ऋण दिएन । ‘कसोकसो गरेर आफ्नै फर्निचर खोलें । त्यसबेला दुईजना मिस्त्री राखें’– हिराकाजी भन्छन् ।

भन्छन्– ‘दुईजना कामदार राखेर कारखाना सुरु गरें । कामदारलाई महिनाको दुई हजार रुपैयाँ तलब दिन र भाडा तिर्न गाह्रो थियो । तर, संघर्ष गर्ने आँट थियो मसँग ।’   
हिरा फर्निचर अगाडि बढ्न थाल्यो । तर, हिरा फर्निचर तथा हिराकाजी महर्जनको यात्राको टर्निङ प्वाइन्ट भने चीन यात्रा थियो । 

३५ लाख रुपैयाँको यात्रा

थालनी गरेको आठ वर्षमा हिराकाजीले हिरा फर्निचरलाई एउटा उचाईमा पुराइसकेका थिए । उनले फर्निचरसँगै पार्केट तथा कार्पेटहरु पनि बेच्न थालेका थिए ।

उनलाई लाग्यो– अब यतिले मात्र पुग्दैन, थप केही गर्नुपर्छ । उनले चीन गएर फर्निचरका सामान ल्याउने विचार गरे । ३५ लाख रुपैयाँ बोकेर चीन गए । चीन नै किन गए भने नेपालमा फर्निचर तथा फर्निसिङ सम्बन्धी अधिकांश सामान चीनबाटै आउँथे ।

करिब डेढ करोड रुपैयाँ जतिको सामान ल्याउँदा मात्र नाफा हुने देखे । रित्तो हात फर्किन चाहेनन् । जीवनकै ठूलो निर्णय गर्नुपर्ने भयो । घर नै बन्धक राखेर ऋण लिन्छु र चीनबाट सामान लैजान्छु भन्ने अठोट गरे । चिनियाँ व्यापारीलाई १० लाख रुपैयाँ एडभान्स दिएर नेपाल फर्किए । 

रकम लिएर फेरि चीन गए, सामान ल्याए । फेरि पनि गए, फेरि पनि ल्याए । अहिले उनी तीन महिनामा एकपटक चीन जान्छन् । तर, अहिले उनी चीनबाट सामान भन्दा प्रविधि ल्याउँछन्, सीप ल्याउँछन् । विगतमा उनी जे सामान चीनबाट ल्याउँथे, अहिले नेपालमै उत्पादन गर्छन् । 

भन्छन्– ‘मैले चीनबाट धेरै कुरा सिकेको छु ।’

फर्निचर जगतमा प्रतिष्ठित ब्राण्ड बनेको छ बेष्ट फर्निचर । भन्छन्– ‘बेष्ट फर्निचरको टिम सयजना भन्दा धेरैको छ । हामी सबै गुणस्तरप्रति समर्पित छौं ।’ 

हिराकाजी भन्छन्– ‘ललितपुरको ठेंचोको माटोमा हुर्किएको हूँ । आफ्नो पृष्ठभूमि बिर्सिएको छुइन । विगतमा गरेको संघर्ष बिर्सिएको छुइन ।’


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत