नेपालमा अब उच्चस्तरको इन्टरनेट सेवा सुरु
काठमाडाैं । नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलोपटक ६ सय एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेमालले ठूलो फड्को मार्न सक्ने बताइएको छ ।
विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ । वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपीएस पुग्ने अपेक्षा गरिएको छ ।
उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने वल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिनुभयो । यो सँगै वल्डलिंकको इन्टरनेट स्पिड अब कम्तिमा पनि एक सय ५० एमबिपीएस गतिको हुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि एक सय ५० एमबिपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।’
वल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन प्रयाशरत रहेको उल्लेख गर्दै वल्डलिंकका निर्देशक मनोज अग्रवालले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप नयाँ योजना सार्वजनिक गरेको बताउनुभयो । घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार चार सय अर्थात मासिक एक हजार दुई सय मा एक सय ५० एमबिपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । एक सय ५० एमबिपीएससहित दुई सय २५ र तीन सय एमबिपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइनको कक्षामा संलग्न हुनुका साथै विभिन्न गेम खेल्नका लागि पनि निकै सहज हुने निर्देशक अग्रवाल बताउनुहुन्छ । वल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुनसक्ने तर यसका लागि डुअल व्याण्ड भएको राउटर आवश्यक पर्नेछ ।
यो योजनाले इन्टरनेट सेवाग्राहीको वाई फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने कम्पनीको विश्वास रहेको छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत नेपालले बताउनुभयो । हाल पाँच लाख ६५ हजार परिवारलाई इन्टरनेटसँग जोडेको वल्डलिंकले तीन वर्षभित्र देशभरका पालिकाका ९५ प्रतिशत वडास्तरमा पुग्ने लक्ष्य रहेको बताउँदै सरकारले विपन्न गरिबको पहिचान हुने परिचय पत्र प्रदान गरेको अवस्थामा उनीहरुसम्म इन्टरनेट पहुँच पुर्याउन कम्पनी तयार रहेको छ भन्नुभयो ।
उहाँका अनुसार हाल देशका ७५ जिल्लामा वल्डलिंकमार्फत इन्टरनेट सेवा पुगेको र कर्णालीका प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ । देशका विभिन्न १५ हजार स्थानमा निःशुल्क ‘फ्री वाई–फाई’ सेवा सञ्चालन गरिएको बताउँदै उहाँँले यसलाई ग्रामीण क्षेत्रमा विस्तार गरी विपन्न समुदायमा इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।
सरकारको डिजिटल नेपालको अवधारणालाई सफल तुल्याउन पनि गुणस्तरीय इन्टरनेट सेवालाई देशभर विस्तार गर्नु आवश्यक रहेको निर्देशक अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो । ‘हाल धेरै इन्टरनेट सेवा प्रदायकहरुले घरघरमा फाइबर जडान गरेका छन् तथा ठूला शहरहरुमा मात्र फिक्ड ब्रोडब्यान्ड सेवाहरु सीमित रहेको अवस्थामा हामीहरु गाउँगाउँमा पुगेर सेवा विस्तार गरिरहेका छौँ ।’
–रासस


प्रतिकृया दिनुहोस