नगद चाेर्नेभन्दा 'सूचना चाेर्ने' खतरनाक
नगद चोर्ने विदेशीभन्दा सूचना चोर्ने विदेशी खतरनाक हुन्छन् । नेपालमा नगद चोर्ने विदेशी यदाकदा मात्र देखिन्छन्, तर, नेपालको सम्पूर्ण गोपनीयता लैजाने विदेशी धेरै छन् भनी आँकलन गर्न गाह्रो छैन । आजको युगमा चोरीको अस्त्र हो सूचना प्रविधि । चिनियाँ चोरले सूचना प्रविधि दुरुपयोग गरेर चोर्न खोजे । तर, सूचना चोर्नेहरुले चाहिँ प्रविधिको सदुपयोग गर्छन्, नेपाललाई प्रविधि भिडाउँछन् र शानदार ढंगले सम्पूर्ण सूचना हात पार्छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयलाई अमेरिकाले कम्प्युटर दियो । सचिवालयमा सूचना प्रविधि प्रणाली पनि आफ्नै खर्चमा स्थापित गरिदियो । लोकतन्त्र आउने बित्तिकै अमेरिकाले दिएको त्यो ‘सहयोग’ केका लागि थियो ? नेपालको मन्त्रिपरिषद्को सम्पूर्ण सूचना अमेरिकी हातमा पुगेन भन्न कसरी सकिन्छ ?
संविधान सभा बनेपछि संसद् सचिवालयले विदेशी सहयोग लिन थाल्यो । विदेशी सहयोगमा प्राप्त कम्प्युटरले सचिवालयमा काम हुन थाल्यो । संविधान निर्माणमा विदेशी चासो र हस्तक्षेप कतिसम्म थियो भन्ने देशले भोगिसकेको छ । त्यति महत्वपूर्ण काममा विदेशीले दिएका कम्प्युटर प्रयोग कति सुरक्षित थियो ?
उच्च महत्वका सरकारी निकायहरुलाई कम्प्युटर सहयोग दिने तथा सूचना प्रविधि प्रणाली बनाइदिने काम विदेशीले गरिदिँदै आएका छन् । यस्तो खालको काममा सहयोग दिन विदेशीहरुको विशेष खालको अभिरुची देखिन्छ । सरकारी निकायले अरुले दिएको कम्प्युटर प्रयोग गर्नु घातक हुन्छ भन्ने अब पनि बुझिँदैन भने कहिले बुझ्ने ?
बैंकिङ क्षेत्रको साइबर सुरक्षा प्रणालीमाथि प्रश्न उठिरहेको बेला समग्र सरकारी साइबर सुरक्षा प्रणालीमाथि प्रश्न उठाउनुपर्ने भएको छ । विगतमा लिइएका घातक प्राविधिक सहयोगको समीक्षा गर्नुपर्ने भएको छ । कतिसम्म भने सुरक्षा निकायहरुले समेत विदेशी कम्प्युटर र आईटी प्रणाली सहयोग लिएका छन् । ती सहयोगको मूल्य देशले भित्रभित्रै विकराल रुपमा चुकाउनु परेन होला त ?
चिनियाँ गिरोह नेपालको बैंकिङ साइबर सुरक्षा प्रणालीभित्र पस्न सफल भयो । उनीहरुको सफलतासँगै नेपालको साइबर सुरक्षा जनस्तरमा बहसको विषय बनेको छ र बन्नु पनि पर्छ ।
जुन देशको सरकारी कामकारवाही विदेशीले दिएको कम्प्युटरमा हुन्छ, त्यो देशको गोपनीयता केही पनि बाँकी रहँदैन । यो विश्वव्यापी रुपमा स्थापित तथ्य हो । त्यसैले जस्तै गरिब देशको सरकारले पनि कम्प्युटर तथा सूचना प्रविधि सहयोग लिँदा होस पुराउँछ । नेपालले जस्तो बेहोसीमा सहयोग लिँदैन ।
अहिले प्रदेश सरकार र स्थानीय सरकारलाई अनेक खाले सहयोग भिराउने प्रयास भइरहेको छ । प्राविधिक सहयोग गर्ने नाममा कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी सहयोग दिइएको पनि समाचार आइरहेको छ । यस्तो सहयोग कति सुरक्षित छ ? विचार पुराइयोस् ।
बैंकिङ क्षेत्रको साइबर सुरक्षा प्रणाली उपर समीक्षा गरिरहँदा समग्र सरकारी साइबर सुरक्षा प्रणालीमा पुर्नविचार गरिनुपर्छ । हरेक मुलुकको आफ्नै मौलिक गोपनीयता हुन्छ । आजको युगमा त्यस्तो गोपनीयता चुहिने भनेको सूचना प्रविधि मार्फत् हो । सूचना प्रविधिका यावत फाँट तथा क्षेत्रलाई नेपालले सुरक्षित राख्नुपर्छ ।
चिनियाँ ह्याकर नेपालबाट रकम लान सफल भएनन्, तर, विदेशीहरुले नेपालको सूचना प्रविधि प्रणालीका अनेक क्षेत्रबाट निरन्तर सूचना लगिरहेका छन् । दाेहाेर्याएर लेख्नैपर्ने हुन्छ– रकम लान खाेज्ने ह्याकरभन्दा सूचना लैजानेहरु धेरै खतरनाक हुन्छन् । यो तथ्यवोध सरकारले गरोस् ।
कुनै पनि मुलुकको सामरिक सुरक्षाको सर्वाधिक महत्वपूर्ण अवयव साइबर सुरक्षा भइसकेको छ । साइबर सुरक्षा गर्न सकिएन भने मुलुकको कुनै पनि गोपनीयता सुरक्षित राख्न सकिँदैन ।
त्यसैले
रकम चोर्ने ह्याकरहरु तर्फ ध्यान केन्द्रीत गरिरहँदा मुलुकको सूचना चोर्ने विदेशीहरु तर्फ पनि ध्यान दिइयोस्, सुरक्षात्मक उपाय अपनाइयोस् ।


प्रतिकृया दिनुहोस