ओमानमा हुने टी–२० प्रतियोगिता ज्ञानेन्द्रले नखेल्ने
काठमाडौं । आगामी अक्टोबर ५ देखि १० सम्म ओमानमा आयोजना हुने पाँच राष्ट्र सम्मिलित टी–२० प्रतियोगितामा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल नखेल्ने भएका छन् ।
व्यक्तिगत कारण देखाइ मल्लले उक्त प्रतियोगिताको लागि आफुलाई टोलीमा छनोट नगर्न आग्रह गरेका छन् । मल्लले प्रतियोगिता नखेल्ने निर्णय गरेको नेपाली क्रिकेट टोलीका मिडिया मेनेजर सुरज शाक्यले जानकारी दिए ।
ओमानले टी–२० विश्वकपको ग्लोबल क्यालिफायरलाई लक्षित गर्दै नेपाल लगायत आयोजक ओमान, हङकङ, नेदरल्याण्ड्स र आयरल्याण्डलाई सहभागि गराउँदै प्रतियोगिता आयोजना गर्ने पक्का भइसकेको छ ।
ग्लोबल टी–२० क्वालिफायरमा छनोट हुन नसकेपनि महत्वपूर्ण प्रतियोगितामा भएकोले नेपालले सहभागिता निश्चीत गरिसकेको छ । यसको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग अनुमति पनि पाइसकेको छ ।
प्रतियोगितामा नेपालले पहिलो खेल अक्टोबर ६ मा हङकङसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अक्टोबर ७ मा नेदरल्याण्ड्स, अक्टोबर ९ मा आयरल्याण्ड र अक्टोबर १० मा ओमानको सामना गर्ने बताइएको छ । राउण्ड रोबिन लिगको आधारमा हुने यस प्रतियोगिताको अन्तमा लिग तालिकाको शिर्ष स्थानमा हुने टोलीले उपाधि जित्नेछ ।


प्रतिकृया दिनुहोस