• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विप्लव समूहको दुर्भाग्य : एउटा घटनाले खेल बिग्रियाे

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा ‘जनयुद्ध’ का लागि आत्मगत रुपमा तयार भएको थिएन तर एउटा दुर्घटनाले यो समूहलाई नराम्रोसँग फसाइदियो । 

विप्लव समूहले विगतको जनयुद्धलाई निरन्तरता दिइरहेको दावी गर्छ तर जनयुद्ध शब्द उच्चारण गर्दैन । जनयुद्ध भन्यो भने आफूमाथि आक्रमण सुरु हुन्छ भन्ने बुझेर यो समूहले वाठो नाम निकालेको थियो– एकीकृत जनक्रान्ति ।

जनयुद्ध नामको विकल्पमा विप्लव समूहले ‘एकीकृत जनक्रान्ति’ नाम निकालेको थियो । गतिविधि जनयुद्धको जस्तै गर्ने तर जनयुद्ध नभन्ने समूहको रणनीति थियो । यो रणनीतिको आवरणमा विप्लव समूहले राम्रै संगठन विस्तार गरेको थियो भने चन्दा पनि ठूलो परिमाणमा उठाएको थियो । 

चन्द उठाउने, अत्यधिक रकम संकलन गर्ने, संगठन विस्तार गर्ने र मिलिट्यान्टको संख्या बढाउँदै जाने विप्लवको नीति प्रष्टै देखिएको थियो । आकार र शक्ति धेरै नै बढाइसकेपछि मात्र ‘युद्ध’ गरेको भनेर घोषणा गर्ने रणनीति थियो । 

तर, एउटा दुर्घटनाले यो रणनीति मात्र भताभुंग भएन, पार्टी नै भताभुंग हुने अवस्था सिर्जना भएको छ । 

त्यो दुर्घटना

माघ १० गते ललितपुरमा रहेको एनसेल कार्यालयमा विप्लव समूहले वम विष्फोट गरायो । एनसेललाई यो समूहले निरन्तर धम्काउँदै चन्दा उठाउँदै आएको थियो । वम विष्फोट गरेर टावर ध्वस्त पारिदिने भएकाले एनसेलले पनि ठूलो परिमाणमा चन्दा दिँदै आएको थियो । तर, पछिल्लो कालमा यो समूहले एनसेलसँग थप चन्दा उठाउन सकिरहेको थिएन । किनभने विप्लव समूहले आफ्नो पार्टीको आकार र हैसियत निकै नै बढेको ठूलो रकम दिनुपर्छ भनेर माग गरिरहेको थियो । 

तर, एनसेलले दिन सकेन । त्यसैले १० माघमा देशभरीका करिब एक दर्जन एनसेल टावरमा वम विष्फोट गरायो र एनसेल कार्यालयमा पनि वम विष्फोट गरायो । 

वम विष्फोट गराएर एनसेललाई पनि तर्साउने र अरुलाई पनि थर्काउने रणनीति थियो । तर, वम विष्फोटमा सिंहप्रसाद गुरुङ मारिए । मानिस समेत मारिएपछि विप्लव समूह समस्यामा फस्यो । व्यक्ति हत्या भएपछि विप्लव समूहको गतिविधिमा सरकार चुप लागेर बस्न नसक्ने अवस्था सिर्जना भयो । 

त्यस बीचमा अर्काे एउटा घटनाले विप्लव समूह झन समस्यामा फस्यो । प्रचण्ड सहितका नेताहरुलाई मार्ने योजनाको पोल खुल्यो । 

नख्खु वम विष्फोटमा फेला परेका केही तथ्य यस्ता थिए, जसले विप्लव समूहमाथि प्रतिवन्ध नलगाई नहुने अवस्था आयो । त्यो तथ्य थियो– नियो जेल ९० ।

नियो जेल ९० खतरनाक विष्फोटक पदार्थ हो । नख्खु विष्फोटमा विप्लव समूहले नियो जेल प्रयोग गरेको भेटियो । यो यस्तो विष्फोटक पदार्थ हो जो सेनाको बाहेक अरुको पहुँचमा हुँदैन । नियो जेल विप्लव समूहले प्रयोग गर्न थालेको बुझेपछि सबै सुरक्षा निकायहरु गम्भीर भए । विप्लव समूह भविष्यमा ठूलो आतंकवादी संगठन बन्न सक्छ भनी उनीहरुले सतर्क गराए । 

परिणाम स्वरुप विप्लव समूहमाथि प्रतिवन्ध लाग्यो । 

प्रतिवन्धको परिणामस्वरुप समूहका नेताहरु असुरक्षित बने । विप्लव बाहेक सबै नेताहरु अर्धभूमिगत थिए, उनीहरु लगभग सार्वजनिक नै थिए । तर, प्रतिवन्ध लगत्तै सबै नेताहरु पूर्ण भूमिगत हुन वाध्य भए । 

यति चाँडै पूर्ण भूमिगत हुनुपर्ला, सरकारी प्रतिकारको सामना गर्न पर्ला भन्ने विप्लव समूहको आकलन थिएन । न आत्मगत तयारी थियो, न मनोगत तयारी नै थियो । एकीकृत जनक्रान्ति भन्दै अघि बढ्ने रणनीति मात्र थियो । कुनै पनि बेला भूमिगत बन्नुपर्ने अवस्था आउला भन्ने विप्लव समूहले कल्पनै गरेको रहेनछ, यद्यपि, उसले भूमिगत संगठनात्मक संरचनाहरु भने बनाइरहेको थियो । 

बलियो सरकार

मोहन वैद्य समूहबाट फुटेर आफ्नै पार्टी बनाएका थिए विप्लवले । त्यसबेला सरकार अस्थिर थियो, संविधान बनेको थिएन । सरकार पूरै कमजोर थियो, सरकारले कसैलाई नियन्त्रण गर्न सक्ने अवस्था थिएन । त्यस्तो बेला विप्लवले आफ्नै पार्टी बनाएका थिए । 

गत चुनावसम्म पनि विप्लव समूहले डामेर छाडा छाएिको साँढे झैं स्वतन्त्रतापूर्वक हिंसात्मक गतिविधि गर्न पाएको थियो । चुनावका बेला विप्लव समूहले राम्रै चुनौति सिर्जना गरेको थियो । 

चुनावमा बहुमतको सरकार बन्यो, केपी शर्मा ओली प्रधानमन्त्री बने । उनी बलियो प्रधानमन्त्री बन्दै गए । 

एकजनाको ज्यान जानेगरी नख्खु विष्फोट गर्दा ओलीका सामु दुईटा बाटो थियो । पहिलो बाटो हो– विगतका सरकारले जसरी नै विप्लवलाई मैमत्त साँढे जसरी छाडा छाडिदिने । दोस्रो बाटो हो– नियन्त्रणमा लिने । ओलीले सहने कुरै थिएन । उनले विप्लव समूहको गतिविधि प्रतिवन्धित गर्ने निर्णय गरे । 
यसपछि विप्लवको ओरालो गति सुरु भयो ।

अहिलेसम्मका दुई चुनौति

विप्लव समूहले पाँच वर्ष बीचमा दुईटा ठक्कर खायो । पहिलो ठक्कर नाकावन्दीको बेला खायो । त्यसबेला यो समूहले नाकावन्दीलाई सघाउन नेपाल बन्द आव्हान गर्यो, उसको बन्द आव्हानलाई चौतर्फी भत्र्सना गरियो । उसको नियत एक प्रकारले खुलेको थियो । 

दोस्रो चुनौति अहिले भोग्दैछ । अहिलेको चुनौति विप्लवका लागि जीवन मरणको सवाल बनेको छ । सुरक्षा निकायहरु विप्लव समूहलाई तत्काल समाप्त पार्छाैं भनिरहेको छ । यही कुरा बुझेर प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्रै विप्लव समूहलाई समाप्त पार्ने भनेका छन् । 

अर्थात्, विप्लव समूहलाई महाविपत्ति आइलागेको छ ।


 


 

प्रतिकृया दिनुहोस