• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विक्रम, विकास र सुन्दरकाे शानदार टिम

राजकुमार रेग्मी

राजकुमार रेग्मी

विक्रम, विकास र सुन्दर । तरुण जोश थियो । उर्जा थियो । केही नयाँ र उदाहरणीय गरौं भन्ने भावना थियो । 

०७२ सालको कुरा हो । यी तीनजना अल्लारेहरु उमेर र आवश्यकता भन्दा निक्कै धेरै कमाउथे ।

त्यसबेला विकास सिद्धार्थ विजनेस ग्रुप अफ हस्पीटालिटीमा निक्कै राम्रो कमाउथे । विक्रमको झन राम्रो कमाई थियो– विनर्स लिकर्स कम्पनीमा । सुन्दर वल्र्ड लिंक कम्युनिकेसनमा काम गर्थे ।

तीनैजनाको कमाई राम्रो थियो, नपुग्दो केही थिएन । तैपनि उनीहरुसँग एउटा चिज थिएन– सन्तोष । जागिर मात्र खाएर के गर्ने ? यो उमेरमा समाजका लागि केही उदाहरणीय काम गर्नैपर्छ भन्ने उनीहरुलाई लागिरहेको थियो ।

तर, के काम गर्ने ? 
    
के गर्ने भन्ने प्रश्नको जवाफ खोज्न तीजनाको वैठक बस्यो । वैठक स्थल थियो काठमाडौंको नयाँ बानेश्वर स्थित एउटा कफी पसल । कफीको चुस्की लिँदै उनीहरुको वैठक चल्यो । वैठकले निर्णय गर्यो– जे गर्ने हो गरौं स्वदेशमै गरौं, विदेश चाहिँ नजाउँं । 

त्यो अदभुत निर्णय माइन्यूटमा लेखियो । माइन्यूट थियो उनीहरुकै मनमष्तिष्क र ह्रदय ।

विक्रम केसी र सुन्दर कार्की काठमाडौंको मीनभवन स्थित नेपाल कमर्स क्याम्पसमा पढ्थे । विकास अधिकारी शंकरदेव क्याम्पसमा पढ्थे । पढाई राम्रै थियो । 

के गर्ने र कसरी गर्ने भन्ने उपाय खोज्न तेह्रथुमका विक्रम केसी, सर्लाहीका विकास अधिकारी र ओखलढुंगाका सुन्दर कार्कीको निरन्तर वैठक चल्न थाल्यो । यी अल्लारे ठिटाहरुले केही बाटो पाइरहेका थिएनन् ।

त्यसबेला साथीहरु धमाधम विदेश उड्दै थिए, कोही उड्ने तरखर गर्दै थिए । 

कृषि फार्म र रेष्टुराँ

तीजनाको टिमले कृषि फर्ममा सम्भावना देख्यो । सुन्दरले घरमा सामान्य खेतिपाती गरेका थिए तर विक्रम र विकासले हलो कोदालो छोएका थिएनन्, खेतबारी पसेका थिएनन् । 

रुमानी सपनामा डुबेर खेति गर्ने ठाउँ खोज्न थाले । कृषि फार्म खोज्ने ठाउँ त पाइएन बरु रेष्टुराँ पो पाइयो । नयाँ बानेश्वरमा संसद भवन पल्लोपट्टि पहिले ट्रली बस रहेको जग्गामा रहेको घरमा चलिरहेको रेष्टुराँ विक्रीमा रहेछ ।

रेष्टुराँका अलिअलि अनुभवी विकासले ठहर गरे– यत्तिको ठाउँमा रेष्टुराँ चलाउन र जमाउन सकिन्छ ।

त्यसपछि सुरु भयो तीनजनाको लगानीमा रेष्टुराँ । दस लाख रुपैयाँ हालेर किने अनि पाँच लाख रुपैयाँ थपेर रेष्टुराँलाई नयाँ रुप दिए । जसले रेष्टुराँ बेचेका थिए उनी आफैं कूक थिए । नयाँ कूक नपाइन्जेल पूराना साहू नै कूक बनिदिनुपर्ने सर्त थियो । पूराना साहू कूकको जागिरे बने, विक्रम, विकास र सुन्दर मालिक बने । 

तीनैजनाले आकर्षक जागिर छाडे, रेष्टुराँमा होमिए । मजाले चल्न थाल्यो रेष्टुराँ । आफूले बेचेको रेष्टुराँ चलेको देखेर पूराना साहू पनि चकित बने । 

""

रेष्टुराँ थालेपछि पो थाहा भयो– कामदार नपाइने रहेछ । कूक पाउन त झन गाह्रो । ग्राहक प्रशस्त आउँथे तर भाँडा माझ्ने कामदार एक्लैले भ्याउँदैनथे । विकास, विक्रम र सुन्दर आफै भाँडा माझ्न बस्थे । घरमा कहिले भाँडा नमाझेका उनीहरुबीच भाँडा माझ्न तछाडमछाड हुन्थ्यो । 

उता घरमा बाआमा अष्ट्रेलिया, अमेरिका र क्यानडा जाओ भन्दै कराउँदै थिए, यता ठिटाहरु भाँडा माझ्दै थिए । र, भाडा माझेकोमा गर्व गरिरहेका थिए । विक्रम भन्छन्– ‘भाँडा माझ्दा ग्लानी होइन गर्व हुन्थ्यो ।’

गर्व गर्न लायक र उदाहरणीय काम गर्न यी तीनजना तम्सिएका थिए ।

रेष्टुराँ खोलेको एक महिनापछि नै अर्काे काम पनि भयो । ललितपुरको गोदावरीमा खेति गर्ने ६ रोपनी जग्गा पाइयो । रेष्टुराँसँगै तरकारी खेति पनि थाले ।  
सपना साकार हुने देखियो । उत्साह र उमंगको कुनै सीमा थिएन ।

पहिलो झट्का

तीन महिनापछि कूकले काम छाडिदिए । उनीहरुले पहिलो झट्का ब्यहोरे । 

रेष्टुराँमा काम गर्न कूक तथा अन्य कामदारको कति अभाव छ भन्ने उनीहरुले भोगे । विकास भन्छन्– ‘भएभरका युवा विदेश गएको हुनाले कामदार नै पाइएन । नेपालमा कामलाई सानो र ठूलो भन्ने चलन छ, यसकारण सानो भनिएको काम गर्न सितिमिती कोही नमान्ने ।’

तर, अन्त्यमा सजिलै एकजना कूक पाइयो । ती कूक थिए– सुन्दर । आँट गरे सुन्दरले । कम्मर कसेर किचनमा पसे सुन्दर । भएभरका परिकार पकाउन थाले । कूक कामको त के घरमा सामान्य पकाईतुल्याईको समेत अनुभव नभएका सुन्दरले रेष्टुराँका स्वाद पारखी ग्राहकहरुको सन्तुष्टिको जिम्मा लिए । 

अचम्मै भयो, ग्राहकहरु पहिलेको भन्दा मीठो भन्न थाले । पहिलो झट्का पार गरे तीन युवाले ।

नकारात्मक प्रतिक्रियाले उर्जा

रेष्टुराँ चल्दै गर्दा गोदावरीमा शानदारसँग तरकारी खेति सुरु भयो । यता रेष्टुराँ पनि भ्याउँथे, खेति पनि भ्याउँथे पालो गरीगरी । 

तीनभाइलाई भ्याइनभ्याइ थियो । 

उत्साहको बढेको बढ्यै थियो । तर, घरपरिवार र नातागोता चाहिँ ‘केके नै गर्छाै भन्ने लागेको थियो, जाबो तरकारी खेति र रेष्टुराँ पो गर्न थालेछौ’ भन्दै उडाउँथे । परिवारले जति उडाउँथे उति उत्साहित हुन्थे । 

साथीभाइ इष्टमित्र सबैलाई उनीहरु सुनाउथे– ‘हामी तरकारी खेति गरिरहेका छौं ।’

थाहा थियो– सुनाउँदा राम्रो प्रतिक्रिया आउने छैन । ‘छि, यस्तो काम के गरेको’ भन्ने प्रतिक्रिया आउँछ भन्ने पनि थाहा थियो । तैपनि सुनाउथे । किनभने अरुको नकारात्मक प्रतिक्रियाले उनीहरुलाई सकारात्मक उर्जा दिन्थ्यो । 

तरकारी रिसोर्ट

७/८ महिना चलिसकेको थियो रेष्टुराँ । एउटा विपत्ति आइलाग्यो । सो जग्गा नागरिक लगानी कोषले लिएको थियो । उसले घर भत्काउने भयो । 

रेष्टुराँ बन्द भयो । रेष्टुराँको सपना भताभुंग भयो तर तरकारी बारीमा शानदार ढंगले सपना लहलह फल्न थाल्यो । 

अब तीन भाइ एकै ठाउँ बस्न लागे– गोदावरीको तरकारी बारीमा । एउटा सानो टहरामा बस्थे, त्यहिँ पकाउँथे । राति चितुवा आउथ्यो, चितुवाले आक्रमण गर्ला भन्ने डर पनि हुन्थ्यो । तैपनि ‘रिसोर्टमा बसेका छौं’ भन्दै गर्व गर्थे । साथीहरुको जमात आउथे ‘वाह, क्या राम्रो काम गरेछौ’ भन्थे । 

यहाँनेर एउटा विशेष चर्चा गरौं । विकास, विक्रम र सुन्दरको तरकारी खेति देखेर प्रौढ पुस्ताले ‘अलि गतिलो काम गर, तरकारी खेति गरेर हुँदैन’ भन्थे । तर, युवा साथीहरुले चाहिँ प्रोत्साहित गर्थे । 

उनीहरुले एक दिनमा करिब ७० हजार रुपैयाँ सम्मको गोलभेडा बेचे । आम्दानी मनग्य थियो तर बिहान अँध्यारैमा उठेर रातिसम्म काम गर्नुपथ्र्याे । कोदालो खन्ने, मल बोक्ने, औषधी छर्कने सबैसबै काम गर्नुपथ्र्याे ।

‘काम यति धेरै गर्नुपथ्र्याे, यति धेरै गर्नुपथ्र्याे, यति धेरै गर्नुपथ्र्यो’– सुन्दर भन्छन्– ‘मलेसिया र खाडी मुलुकमा जानेहरुले धेरै काम गर्नुपरेको सुनाउछन्, उनीहरुले भन्दा हामी पाँच गुणा काम गथ्र्याैं ।’

योजना थियो तरकारी बारी विस्तार गर्ने । उनीहरुले भाडामा थप जग्गा पनि पाए । तर तीनजनाले मात्र तरकारी बारीमा काम गरेर सम्भव भएन । कामदार पाउँदै नपाइने । जति खोजे पनि कामदार पाइएन । ६ रोपनी जग्गाको कमाइले केही नहुने भयो, विस्तार गर्न कामदार अभावले असम्भव भयो ।

""

कामदार अभावकै कारण तरकारी खेतिमा ग्रहण लाग्यो । र, उनीहरुले खेति छाडे । 

तीनजना तीनतिर

त्यसपछि विक्रम एउटा कम्पनीको म्यानेजर बने । विकासले कन्स्ट्रक्सन कम्पनी चलाउन थाले । सुन्दर मेसिनरी सामानको व्यापारमा लागे । 

‘हामी असफल भएनौं, जे गर्यौं त्यसबाट ठूलो उर्जा र शिक्षा पायौं’– तीनैजनाको भनाई छ । 

विकास भन्छन्– ‘बरालिएर हिँड्ने, बाआमासँग खर्च माग्ने उमेरमा हामीले जेजे गर्यौं त्यो अरुका लागि सामान्य होला तर हामी गर्व गर्छाैं ।’

सुन्दर भन्छन्– ‘हामीले दस वर्ष कलेज पढ्दा नपाउने शिक्षा डेढ वर्षमा पायौं ।’

विक्रम भन्छन्– ‘हामीले टिम वर्कको महत्व र शिक्षा लियौं, अपार अनुभव बटुल्यौं । डटेर काम गर्दा सफल भइन्छ भन्ने सिक्यौं ।’

र, सनराइज खबरमा

‘सकारात्मक समाचार, रचनात्मक विचार’– सनराइज खबरको यो आदर्शले विक्रम र विकासलाई छोएछ । उनीहरु सनराइज खबर परिवारको सम्पर्कमा आए । 

उनीहरुले सकारात्मक फिचरहरु लेख्न थालेका छन्, राजनीतिक आलेख लेख्न थालेका छन् । भन्छन्– ‘रेष्टुराँ विश्वविद्यालय पढ्यौं, तरकारी खेति विश्वविद्यालय पनि पढ्यौं, अब मिडिया विश्वविद्यालय पढ्छौं ।’

विक्रम भन्छन्– ‘हाम्रो अनुभव यात्रा शानदार भइरहेको छ ।’ विकास भन्छन्– ‘नयाँ काम गरेर उदाहरणीय बन्न खोजेका थियौं । अब नयाँ काम गर्ने उदाहरणीयहरुलाई समाजका अगाडि ल्याउँछौं ।’

निष्कर्षमा

यी तीन युवाको अनुभव यात्राको विलक्षण पक्ष हो– टिम वर्क । उनीहरुको साझेदारीमा आर्थिक पक्ष गासिएको थियो । आर्थिक पक्ष गासिएपछि मनमुटाव हुन सक्छ । तर, उनीहरु बीच कुनै मनमुटाव भएन । यो विलक्षण पक्ष हो । 

काम फेरियो, ठाउँ फेरियो, भूमिका फेरियो तैपनि यी तीन एकजुट छन् । त्यसैले भन्न सकिन्छ– सहकार्य हुनुपर्छ कस्तो ? विक्रम, विकास र सुन्दरको जस्तो हुनुपर्छ !

यस्तै अर्काे सामग्री

राजेन्द्रको गाई, यूरोप अमेरिका यहीँ

एकमात्र सरकारी कार्यालय जसले गर्छ ३० मिनेटमै जनताको काम

प्रतिकृया दिनुहोस